नागढुंगा सुरुङमार्ग संचालनको ठेक्का चिनियाँ कम्पनीले पाउने

काठमाडौं । नेपालकै पहिलो नागढुंगा-सिस्नेखोला सुरुङमार्ग संचालनको ठेक्का चोङक्विङ युसिन रोड एण्ड ब्रिज्ड डेभलपमेन्ट र एआरटी कन्स्ट्रक्सन (युसिन-एआरटी जेभी)ले पाउने भएको छ ।

प्राविधिक मूल्यांकनबाट छनोट भएका ७ कम्पनी मध्ये युसिन-एआरटी जेभीले सबैभन्दा कम रकम प्रस्ताव गरेकाले ठेक्का पाउने देखिएको हो । यद्यपि, आयोजनाले औपचारिक रूपमा छनोट प्रक्रिया टुंग्याउन भने बाँकी छ । आयोजनाले गत चैत १ गतेदेखि आर्थिक प्रस्ताव खोल्न सुरू गरेको थियो ।

सुरुङमार्ग संचालनका लागि आह्वान गरिएको टेन्डरमा ६ चिनियाँ, ३ भारतीय र टर्कीको एउटा गरी १० कम्पनीले आवेदन दिएका थिए । तीमध्ये काष्ठमाण्डप/गान्सु हेङटोङ जेभी, एसएक्सआरबी–ब्राइट बुल जेभी, जेटीसीजी–डाँफे जेभी, ईएमएसएल/पशुपति शिवजी कन्स्ट्रक्सन जेभी, समानान्तर/चाइना फ्स्ट हाइवे इन्जिनियरिङ जेभी, वेदांशी इन्फ्रास्क्चर/ रानकेन रेलवे कन्स्ट्रक्सन ग्रुप र चोङक्विङ युक्सिन रोड एण्ड ब्रिज्ड डेभलपमेन्ट/एआरटी कन्स्ट्रक्सन प्राविधिक मूल्यांकनमा पास भएका थिए ।

तिनै ७ कम्पनीले मध्ये सबैभन्दा कम रकम प्रस्ताव गरेको युसिन-एआरटी जेभीले ठेक्का पाउने भएको हो ।स्रोतका अनुसार सबै प्रक्रिया सकाएर ठेक्का पाउने कम्पनीको नाम औपचारिक रूपमा टुंग्याउन अझै २/३ दिन लाग्नेछ ।

‘सुरुङमार्ग संचालनका लागि आह्वान गरिएको सेवा प्रदायक छनोट टेन्डरमा १० कम्पनीले आवेदन दिएका थिए । जसमा प्राविधिक मूल्यांकनबाट ७ कम्पनी छनोट भएका थिए । तीमध्ये युसिन एआरटी जेभीले सबैभन्दा कम रकम प्रस्ताव गरेको छ । सो आधारमा ठेक्का यसैले पाउने देखिन्छ । औपचारिक रुपमा टुंग्याउन अझै २/३ दिन लाग्छ,’ स्रोतले भन्यो ।

ठेक्का पाउन लागेको चोङक्विङ युसिन रोड एण्ड ब्रिज्ड डेभलपमेन्ट चीनकाे सरकारी स्वामित्वको पूर्वाधार निर्माण कम्पनी हो । सन् १९९८ मा स्थापना भएको याे कम्पनीले सडक, पुल, यातायात प्रणाली र इन्जिनियरिङ क्षेत्रमा काम गर्दै आएको छ । एआरटी कन्ट्रक्सन नेपाली कम्पनी हो । ठेक्का शर्त अनुसार विदेशी कम्पनीले नेपालीसँग ज्वाइन्ट भेन्चर गरेर बिडिङ गर्नुपर्ने व्यवस्था थियो ।

छनोट हुने कम्पनीले ५ वर्षसम्म सुरुङमार्ग संचालन र व्यवस्थापन गर्नुपर्नेछ । जसमा टोल उठाउने, ट्राफिक व्यवस्थापन, सुरुङ मर्मत, आपत्कालीन उद्धार, सुरुङमार्गको रेखदेख लगायत काम गर्नुपर्नेछ ।

यो सुरुङ जापान सरकारको अनुदानमा निर्माण भएको हो । मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ । यसको लागत करिब २३ अर्ब रुपैयाँ रहेको छ ।

संचालनमा आउन कम्तीमा दुई महिना लाग्ने

सुरुङ मार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था भए पनि दक्ष जनशक्ति एवम् सुरक्षाका कारण संचालनमा आउन सकिरहेको छैन ।कम्पनीको टुंगो लागेपछि पनि सुरुङमार्ग संचालनमा आउन कम्तीमा २ महिना लाग्ने आयोजनाका अधिकारीहरू बताउँछन् ।

कम्पनीकाे छनोटपछि सडक विभागको स्वीकृतिमा ठेक्का सम्झौता गर्न, जनशक्ति व्यवस्थापन र तिनलाई तालिम दिन २ महिना लाग्ने भएको हो । त्यसपछि केही समय परीक्षणपछि मात्रै औपचारिक रूपमा सुरुङ संचालनमा आउने छ । सुरुङमार्ग कहिलेदेखि संचालनमा ल्याउने भन्ने टुंगो अब नयाँ सरकार आएपछि मात्र हुनेछ ।

यस सुरुङमार्ग मुख्य संरचना निर्माण ६ महिना अघि नै सम्पन्न भइएसको छ । समग्रमा आयोजनाको ९८ प्रतिशत बढी काम सकिएको छ । अब पश्चिम पोर्टल (धादिङतर्फ पहिरो नियन्त्रण र टोल प्लाजा निर्माणको काम मात्र बाँकी छ । जनशक्ति तयार हुँदासम्म उक्त काम सकिने आयोजनाको भनाइ छ ।

१५० जनशक्ति चाहिने

नागढुंगा सुरुङमार्ग संचालनका लागि १५० जनशक्ति आवश्यक पर्ने छन् । सुरुङमार्ग २४ सै घण्टा संचालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ । सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्नुपर्छ । यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको हो ।

सुरुङ संचालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहने छन् । सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । त्यसपछि टोल उठाउन ५४ जना कर्मचारी रहनेछन् । ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८/८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।

सुरुङमार्ग संचालनका लागि वार्षिक करिब ३० देखि ३५ करोड खर्च हुने अनुमान छ । उक्त रकम सरकारले नै व्यहोर्ने छ । सुरुङमार्गमा उठेको टोल सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ ।

कति लाग्छ शुल्क ?

सरकारले सुरुङमार्गबाट गुड्ने सवारी साधनका लागि गत साउन २६ गते वर्ग अनुसार उपभोग दस्तुर (टोल) तोकेको थियो । सुरुङमार्ग हुँदै काठमाडौं आउँदा कार तथा भ्यानहरूले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्छ ।

त्यस्तै, मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यसैगरी, हेभी सवारी साधनले काठमाडौं आउँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।
सुरुङमा कस्ता गाडी गुड्न पाउँछन् ?

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग यातायात संचालन सम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङमार्गमा सबैखाले सवारी साधन गुडाउन पाइँदैन ।

निर्देशिका अनुसार सुरुङ भित्र दुईपाँग्रे (मोटरसाइकल/स्कुटर), तीनपाँग्रे (ट्याम्पु, अटोरिक्सा), डिजेल, पेट्रोल लगायत पेट्रेलियम पद्धार्थ बोकेका ट्यांकरलाई प्रवेश निषेध गरिएको छ । त्यस्तै, सुरक्षा निकायका बाहेक हातहतियार बोकेका, विस्फोटक पदार्थ बोकेका, दुर्गन्धित गन्हाउने, कुहिएका सवारी साधन बोकेका, नन मोटराइज्ड सवारी साधन पनि सुरुङ भित्र गुडाउन पाइँदैन ।

सुरुङमार्ग भित्र १८ मिटर लम्बाइ, २.५ मिटर चौडाइ र ४.२५ मिटर उचाइभन्दा ठूला सवारीसाधन चलाउन नपाउने निर्देशिकामा उल्लेख छ । सुरुङमार्गमा गुड्ने सवारी साधनको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर तोकिएको छ ।


Back_to_top