होन्डाले अल न्यू–सिभिक सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले भारतीय बजारमा दशौँ जेनेरेशनको सिभिकलाई आगामी मार्च महिनाको पहिलो साता सार्वजनिक गर्ने जनाएको हो ।
कम्पनीले यसअघि अल न्यू–होन्डा अमेज र अल न्यू–होन्डा सीआर–भी सार्वजनिक गरिसकेको छ भने, दशौं जेनेरेशनको सिभिक सार्वजनिक गर्ने जनाएको छ । दशौँ जेनेरेशनको होन्डा सिभिक आठौँ जेनेरेशनको सिभिकभन्दा धेरै भिन्न रहेको कम्पनीले दावी गरेको छ ।
दशौँ जेनेरेशनको सिभिक हुन्डाई एलान्ट्रा र टोयोटा कोरोल्ला जस्तै देखिन्छ । भारतका विभिन्न सडकहरूमा यो गाडीको परीक्षण चलिरहेको छ । यो गाडी कम्पनीकै एक्कर्डसँग प्रेरित छ । यसमा नचव्याक प्रेरित स्वोपिङ्ग रुफलाइन दिइएको छ ।
आकर्षक डिजाइनमा तयार भएको सिभिकमा कम्पनीले सुरक्षालाई विशेष जोड दिएको छ । कम्पनीले सुरक्षाका लागि यस गाडीमा ६ एयरव्याग, एबीएस, ईबीडीलगायत फिचरहरू दिएको छ । साथै, गाडीमा वायरलेस–फोन चार्जिङ्ग सिस्टम, लेदर–सिट, क्रुजकन्ट्रोललगायतका अन्य धेरै फिचरहरू उपलब्ध गराएको छ ।
अल न्यू–सिभिकमा पेट्रोल तथा डिजेल दुजै इन्जिन अप्सनमा उपलब्ध हुनेछ । सिभिकमा १.८ लिटर, फोर–सिलिन्डर, नेचुरल्ली एस्पीरेटेड पेट्रोल इन्जिन दिइएको छ । जसले १४० पीएस पावर जेनेरेट गर्छ ।
त्यस्तै, पहिलोपटक भारतीय बजारमा उपलब्ध हुने सिभिकमा डिजेल इन्जिनसमेत दिइएको छ । यसमा १.६ लिटर, फोर–सिलिन्डर, टर्बोचाज्र्ड डिजेल इन्जिन रहेको छ । जुन इन्जिन भारतीय बजारमा केही समयअघि सार्वजनिक भएको होन्डा सीआर–भीमा पनि दिइएको थियो ।
उक्त डिजेल इन्जिनले १२० पीएस पावर उत्पादन गर्छ । यी दुवै इन्जिनहरूमा अटोमेटिक ट्रान्समिसन सिस्टम जडान गरिएको छ ।

