काठमाडौं । आजबाट देशको बागडोर सम्हालेका युवा प्रधानमन्त्री बालेन शाहको लागि मोटर स्पोर्टस्मा धेरै काम गर्न सक्ने सम्भावनाहरू देखिन्छ । नेपालको भौगोलिक विविधता, यहाँको मौसमको फाइदा र एड्भेन्चर टाइपका संरचनामा बलियो आर्थिक पाटो भेट्टाउने अवसर युवा प्रधानमन्त्रीलाई मिल्दैछ ।
विश्वभर मोटर स्पोर्टस् आर्थिक गतिविधि चलायमान बनाउने क्षेत्रमा गनिन्छ । त्यसको मुख्य कारण यो क्षेत्रमा हुने ठूलो लगानी र धनाड्यहरूको रहर मुख्य हो ।
नेपालको भौगोलिक विविधता र युवा उमेरमा रहेका जनसंख्याको लाभ मोटर स्पोर्टस्को क्षेत्रमा ‘गेम चेन्जर’ बन्न सक्छ । त्यसको लागि सरकार, निजी क्षेत्र र स्पोर्टस्मा आकर्षित व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहन्छ ।
त्यसको लागि रेसिङ ट्रयाक निर्माण, यसरी निर्माण भएका ट्रयाकको अन्तर्राष्ट्रिय बजारिकरण, पर्यटकिय पूर्वाधारको रुपमा चर्चा गराउन मात्रै सक्ने हो भने पनि यसले ठूलो प्रतिफल दिन्छ ।
प्रधानमन्त्री बालेन शाह आफैँ कारका सौखिन व्यक्ति हुन् भन्ने कुरा उनको चुनावी यात्रामा पनि देखिएकै हो । आफैँ गाडी चलाएर पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म पुगेका उनले यो क्षेत्रमा पक्कै सम्भावना देखेका होलान् ।
मोटर स्पोर्टस्बाट कसरी फाइदा लिने ?
मोटर स्पोर्टस्सँग जोडिएर आउने गतिविधि ठूलो हुन्छ । यसले पयर्टन उद्योगलाई चलायमान बनाउन सक्छ । अझ त्यसमा मोटर स्पोर्टस्का ठूला स्टार चालकहरू नेपाल ल्याउन सक्ने हो भने त्यसले हामीलाई अलगै किसिमको ब्राण्डिङ प्रदान गर्नेछ ।

युवाहरूमा रोजगारीको सृजना अर्को महत्वपूर्ण हुन्छ । दक्ष जनशक्ति खासगरी मेकानिक्स, इन्जिनियर र इभेन्ट म्यानेजमेन्टमा रोजगारीका अवसर जुट्ने छ । नेपालको एड्भेन्चर लोकेशनहरू बाहिर आउने छन् । जसले नेपाललाई नै विश्वसामु नयाँ सिराबाट ब्राण्डिङ गर्नेछ ।
नेपाली अर्थतन्त्रमा मोटर स्पोर्टस्ले थप्ने अन्य कुरामा अन्तर्राष्ट्रिय ब्राण्डहरूको बिज्ञापन, नवीन पूर्वाधार विकासमा फड्को र धेरै पैसा खर्च गर्न सक्ने पर्यटक ल्याउनु हो ।
नीतिगत सुधार आवश्यक
मोटर स्पोर्टस्मा पाइने सफलता एक दिन वा एक महिनामा मिल्ने होइन । त्यसको लागि लामो समय लाग्न सक्छ । तर, प्रधानमन्त्री बालेन शाह आफैँमा एक सेलिब्रेटी हुन् ।
कान्स फिल्म फेस्टिभलको ‘रेड कार्पेट’मा हिडिसकेकाका र टाइम्स म्याग्जिनले २०२३ मै विश्वमा १०० जना प्रभावशाली युवाको सूचीमा राखिसकेको युवा भएको कारण उनले लिने सकारात्मक निर्णयले विश्वव्यापी चर्चा पाउने पक्का छ ।
सुरुमा नीतिगत व्यवस्था गर्दै स्पोर्टस् पर्यटन र युवा विकाससँग जोडेर ‘नेशनल स्पोर्टस् पोलिसी’ बनाउनु पर्छ । त्यसले सरोकारवाला सबैलाई एक साथ ल्याउन सहयोग गर्छ ।

स्पोर्टस् नीति बनाएसँगै कलेजबाटै ‘कलेज टु कार्टस्’ कायक्रम संचालन गर्ने, नासा लगायतका मोटर स्पोर्टस्मा काम गर्दै आएका संस्थाहरूसँग सहकार्य गर्ने, खेलाडी उत्पादनमा जोड दिने, अटो जिमखाना जस्ता कार्यक्रम संचालन गर्नुपर्छ ।
सम्भावित सर्किटहरू
नेपालको पहाडी र हिमाली जिल्लामा हिउँ हेर्नकै लागि मानिस ओइरिन सक्ने अवस्था छ । त्यसैले हामीले सर्किटहरू निर्माण गर्दा विशेष ध्यान दिनुपर्छ । अहिले नै पनि किर्तिपुरमा रहेको क्रिकेट स्टेडियमबाट मौसम खुल्दा २२/२५ वटा हिमाल हेर्न पाइन्छ । क्रिकेट स्टेडियम त अझ सुविधा सम्पन्न स्थानमा बनाउनु पर्छ ।
मोटर स्पोर्टस्को लागि बन्ने ट्रयाक भौगिलक कठिनाइ भएकै ठाउँमा पनि सम्भव छ । यस्ता ट्रयाक खोल्दा ब्याकराउण्डमा हिमाल देखिनेगरी बनाउनु पर्छ ।
एड्भेन्चर र्याली र टुरिङ इभेन्टको लागि मुस्ताङ, मनाङ, अन्नपूर्ण सर्किट जस्ता रुटहरूलाई व्यवसायिक बनाउनुपर्छ । हिमालयन मोटरसाइकल एक्सपीडिसनदेखि विश्वकै कठिन मोटर स्पोर्टस् गन्तव्य निर्माण गर्न सक्ने अवसर देखिएको छ ।

