काठमाडौं । अप्रिलियाको नेपालका लागि आधिकारीक बिक्रेता दुगर ब्रदर एन्ड सन्सले अप्रिलिया नयाँ स्कुटर बजारमा ल्याउने भएको छ । कम्पनीले अप्रिलियाको स्ट्रोम १२५ स्कुटर बिक्री सुरु गर्न लागेको हो । पियाजियो इन्डियाले केही दिन अगाडि मात्रै भारतीय बजारमा सार्वजनिक गरेको अप्रिलिया स्ट्रोम १२५ नेपाली बजारमा पनि भित्रिएको हो ।
यो स्कुटर यही बिहीबार सार्वजनिक गर्ने तयारी दुगर ब्रदर एण्ड सन्सले गरेको छ । यो स्कुटर कम्पनीले दिल्ली अटो शो २०१८ मा प्रदर्शन गरेको थियो । अप्रिलिया एसआर १२५ मा आधारित रहेर निर्माण भएको यो स्कुटर अझै स्पोर्टी अवतारमा आएको छ ।
नयाँ स्कुटरमा अनरोड र अफरोड दुवै बाटोको लागि उपयुक्त हुने १२ इन्च स्र्पोटर्स अलोय ह्वील दिएको छ । यो सेग्मेन्टमा नै पहिलो स्र्पोटी ह्वील भएको स्कुटर रहेको कम्पनीको दावी छ । स्कुटरको फ्रन्टमा वीन्ड स्क्रिनको अप्सनसमेत दिएको छ ।
अप्रिलिया स्ट्रोम–१२५ मा १२४.४९ सीसीको सिंगल सिलिन्डर थ्री भल्भ एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ७ हजार २५० आरपीएममा ९.५१ बीएचपी र ६ हजार २५० आरपीएममा ९.८ एनएम टर्क उत्पादन गर्छ । यसमा सिभिटी गियरबक्स लगाइएको छ । सीबीएससहितकोे फ्रन्टमा डिस्क तथा रियरमा ड्रम ब्रेक दिइएको छ । यसको कूल तौल १२२ किलोग्राम रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा भने यसको मूल्य २ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

