काठमाडौं । भारतीय दुईपाङ्ग्रे इलेक्ट्रीक ब्राण्ड एथरले ५ लाख युनिट स्कुटर उत्पादनको माइलस्टोन पूरा गरेको छ ।
कम्पनीले बैंगलुरुमा रहेको आफ्नो होसुर प्लाण्टबाट ५ लाख युनिट स्कुटरको उत्पादन पूरा गरेको हो ।
कम्पनीले रिज्टा स्कुटरको उत्पादनको क्रममा ५औं लाख युनिट पूरा गरेको हो । एथरको कुल उत्पादनमा समेत एकतिहाईभन्दा बढी हिस्सा रिज्टाले ओगटेको छ । रिज्टा फ्यामिली स्कुटरका पमा बजारमा चर्चित छ । यो माइलस्टोन पूरा गर्न रिज्टाको धेरै महत्वपूर्ण भूमिका रहेको छ ।
एथरको होसुरमा ब्याट्री र स्कुटरको गरी दुईवटा उत्पादन प्लाण्ट रहेको छ । एथर स्कुटरको प्लाण्टबाट वार्षिक ४ लाख २० हजार युनिट हाराहारिमा स्कुटर उत्पादन गर्न सकिन्छ ।
बढ्दो माग पूरा गर्न कम्पनीले महाराष्ट्रमा अब तेस्रो फ्याक्ट्री स्थापना गरिरहेको छ । निकै आधुनिक र एआई प्रविधिमा निर्माण भइरहेको तेस्रो फ्याक्ट्रीबाट करिब १४ लाखभन्दा बढि युनिट स्कुटर उत्पादन गर्न सकिन्छ ।
५ लाख युनिट स्कुटर उत्पादन पूरा गर्नु एथरका लागि एक प्रमुख कोशेढुङ्गा रहेको कम्पनीका सहसंस्थापक एवम् चिफ टेक्नोलोजी अफिसर (सीटीओ) स्वप्निल जैनले बताएका छन् ।

