एथरले ल्याउने भयो इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । भारतीय इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी एथरले मोटरसाइकल बनाउने भएको छ । कम्पनीले मास मार्केटमा १२५ सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गर्नेगरी मोटरसाइकल ल्याउने भएको हो ।

हाल ४ मोडलमा इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको कम्पनीले जेनिथ प्लेटफर्ममा मोटरसाइकल ल्याउने भएको हो । एथर इनर्जीले इलेक्ट्रीक मोटरसाइकलको लागि जेनिथ र नयाँ स्कुटरको लागि ईएल प्लेटफर्म तयार पारेको हो ।

नयाँ स्कुटर र मोटरसाइकल कम्पनीले आफ्नो औरगांबाद र महाराष्ट्रको सुविधा सम्पन्न प्लान्टमा उत्पादन गर्नेछ । यी दुबै प्लान्ट मे २०२६ देखि संचलानमा आउने छन् । हाल कम्पनीले तामिलनाडुको होसुरमा दुई प्लान्ट संचलान गर्दै आएको छ ।

अहिले एथर ४५० एक्स, ४५० एस, रिज्टा र ४५० एपेक्स मोडलका स्कुटर बिक्री गर्दै आएको कम्पनीले अबभने इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्न लागेको हो ।

अहिलेसम्म नयाँ मोटरसाइकल विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन । यद्यपि, हिरो मोटोकर्पको समेत मुख्य लगानी रहेको एथर इनर्जीले स्टाइलिस तथा स्पोर्टी मोटरसाइकल उत्पादन गर्नेछ । सन् २०३० सम्ममा कम्पनीले मोटरसाइकल बजारको १० प्रतिशत हिस्सा ओगट्ने योजना अघि बढाएको हो ।


Back_to_top