अडी र एयरबसले बनाउने भयो ‘फ्लाइङ्ग ट्याक्सी’, बाहिर आयो डेमो

जर्मनको लग्जरी कार निर्माता कम्पनी अडीले पहिलो फ्लाइङ्ग ट्याक्सीको प्रर्दशन गरेको छ । कम्पनीले पप–अप–नेक्स्ट नामक फ्लाइङ्ग ट्याक्सीको प्रोपोटाइपको सफल परीक्षण गरेको हो । 

ट्याक्सीलाई एभिएसन कम्पनी एयरबस, गाडी निर्माता कम्पनी अडी र इटालीको डिजाइन हाउसको सहकार्यमा निर्माण गरिएको हो । 

कम्पनीकाअनुसार चेसिस विथ ह्वील, टु–सिट क्याप्सुल र फोर–रोटर ड्रोनसहित तीनवटा फरक भाग मिलाएर फ्लाइङ्ग ट्याक्सीको निर्माण गरिएको हो । यस मोडलमा जडान गरिएको ड्रोन निर्धारण गरिएको स्थानमा नै अवतरण हुने गर्छ । उक्त ड्रोनमा प्यासेन्जर क्याप्सुल लिफ्ट जडान हुनेछ । ड्रोनसँग ट्याक्सी जोडिएपछि प्यासेन्जरलाई लिएर ट्याक्सी सहजै उड्न सक्नेछ । 

सफल परिक्षणपछि कम्पनीले यो सफलताले भविष्यमा निर्माण हुने आधुनिक प्रविधिलाई प्रस्ट्याएको दाबी गरेको छ । 

यद्यपि, कम्पनीले तत्काल यस ट्याक्सीलाई आम–मानिसको प्रयोजनको लागि ल्याउने सम्भावना नभएको जवाफ दिएको छ । आम–मानिसको प्रयोजनमा ल्याउनुपुर्व यसको सुरक्षा, पूर्वाधारलगायतका विषयमा विशेष ध्यान दिनुपर्ने अडीले जनाएको हो । अझै १० वर्षपछि मात्र ‘पप-अप-नेक्स्ट’ पब्लिक प्रयोजनमा आउने कम्पनीले जनाएको छ ।

 

यसका अलवा उबर कम्पनीले पनि सन् २०२३ सम्ममा फ्लाइङ्ग ट्याक्सीलाई पब्लिकको प्रयोगमा ल्याउने लक्ष्य लिएको छ । उबरले निर्माण गर्दै गरेको फ्लाइङ्ग ट्याक्सी ब्याट्री पावर एयरक्राफ्ट हो । फिक्स–पखेटा तथा रोट्र्सको प्रयोग गरिएको कारण यो ट्याक्सी हेलिकप्टरजस्तै देखिएको छ । 

यसपूर्व पनि डच कम्पनी पलभीले लिबर्टी भेइकलको निर्माण गरेको थियो । पछिल्लो समय विश्वका विभिन्न कम्पनी फ्लाइङ्ग ट्याक्सीको निर्माणमा लागि परेका छन् । अत्याधुनिक सवारीसाधन निर्माण भैरहेको अवस्थामा अडीको यस परीक्षणले नयाँ आयाम थपेको विश्लेषकहरूले बताएका छन् ।


Back_to_top