काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाबाट घर किन्न र अन्य प्रयोजनको लागि ब्यक्तिगत र संस्थागत कर्जामा पहिला लिएको कडाई नीतिमा केही खुकुलो बनाएसँगै ५० लाखसम्मको कर्जा लिन केही खुकुलो भएको छ ।
अब ५० लाखसम्मको कर्जा लिन चाहने मानिस वा फर्मले कर्जा लिनुअघि पेशगर्नु पर्ने कर चुक्ता प्रमाण पत्र र कर तिरेको आम्दानीको स्रोतमा करको विषयमा सहजता प्रदान गरेको हो ।
अब ५० लाखसम्मको कर्जा चाहिने मानिसले कर चुक्ता प्रमाण पत्र पेश गरिरहनु पर्ने छैन । यसको प्रत्यक्ष फाईदा गाडी किन्न चाहनेको लागि पनि पुग्ने छ । अब गाडी किन्न चाहनेको लागिपनि सानो रकम कर्जामा लिँदा कर चुक्ता प्रमाणपत्र चाहिने छैन ।
सुरुमा घर र अन्य व्यवसायीक कर्जामात्र भन्ने राष्ट्र बैंकको सर्कुलरमा उल्लेख भएकाले गाडी किन्ने मानिसले यस्तो सुविधा पाउने छैनन् भन्ने विषय बाहिर आएको थियो । तर, बैंकहरुले गाडी किन्ने ग्राहकलाई पनि यो सुविधा दिन सक्ने देखिएको छ ।
‘हामीले सानो रकम गाडी कर्जामा लिन चाहनेको लागि पनि यो सुविधा दिएका छौं । घर किन्नेले ५० लाखसम्ममा सुविधा पाउँदा गाडी किन्नेले पनि यो सुविधा पाउने छन्’, एक बैंकरले मेरोअटोसँग भने ।
यसमा नेपाल राष्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्ट भन्छन्, ‘हामीले हाम्रो सबै किसिमको आर्थिक र वित्तीय अवस्थालाई हेरेर नियम बनाउने हो । अहिले आयातमा चाप बढ्दो र भुक्तानी संन्तुलन कायम गर्न सहज होस् भनेर गाडीको विषय उल्लेख नगरेको हो । तर, कर दाखिलाको पत्र देखाएपछि पहिला जस्तै सहजै कम्पनीले पनि गाडी किन्न कर्जा पाउने छन् ।’
भट्टका अनुसार पहिलेभन्दा नयाँ सर्कुलरले घर, गाडी र अन्य व्यववसयाको लागि कर्जा लिन सहज भएको छ ।
अटो लोनमा बैंक अनुसारको व्यवस्था
अटो लोनमा बैंक पिच्छे फरक फरक व्यवस्था गरेको पाइन्छ । स्टायडर्ड चाटर्ड बैंकले कुनेपनि जागिर खाने व्यक्तिले अटोलोन चाहिँदा आफ्नो काम गर्ने अफिसबाट तवल र सुविधा के कति छ भन्ने प्रस्टसँग खुल्ने (स्यालरी सर्टिफिकेट) ल्याउनु पर्नेछ । उक्त सर्टिफिकेटमा टिडीएस कट्टा भएको विवरण र उसको प्यान नम्बर उल्लेख हुनु पर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै डकुमेन्ट पुरानै जसरी पेश गर्नु पर्ने छ ।
त्यसैगरी लक्ष्मी बैंकले व्यक्ति र फर्म दुबैको रक चुक्ता प्रमाणपत्र ल्याउनु पर्ने उल्लेख गरेको छ भने सिभिल बैंकले कर दाखीला भएको प्रमाण पेश गरे पुग्ने जनाएको छ ।
धेरैजसो बैंकले टिडीएस कट्टा भएको स्यालरी सर्टिफिकेट र प्यान नम्बर उल्लेख भएको कागजपत्र उपलब्ध भएपछि अटोलोनको कागजी प्रकृया सुरु हुने उल्लेख गरेका छन् ।
यी हुन् आवश्यक कागज पत्र
१. स्यालरी सर्टिफिकेट । यसमा टिडीएस कट्टा र प्यान नम्बर उल्लेख हुनु पर्ने
२. कम्तीमा ६ महिनाको बैंक स्टेटमेन्ट
३. नागरिकताको फोटो कपी
४. किन्न चाहेको गाडीको कोटेशन
५. अनिर्वाय रुपमा गाडी मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट
६. पासपोर्ट साइजको फोटो
माथी उल्लेखित डकुमेन्टको अलावा कुनै कुनै बैंकले करचुक्ता प्रमाण पत्र पनि माग्ने गरेका छन् ।


