काठमाडौं । अहिले अटोमोबाइल क्षेत्रले एकैसाथ दोहोरो मार खेप्नु परिपरेको छ । मध्यपूर्वमा चर्किएको द्धन्द्धका कारण एकातिर पेट्रोलियम पद्धार्थको मूल्य आकाशिएको छ । अर्कोतर्फ विदेशबाट सामान किनेर ल्याउँदा खर्च गर्नुपर्ने अमेरिकी डलरको भाउ बढिरहेको हो । जसमो सोझो असर अटो क्षेत्रमा पर्न थालेको हो ।
अमेरिकी डलरको मूल्य लगातार नयाँ रेकर्ड बनाउँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यो नेपाली मुद्राको सटहीदरमा हालसम्मकै उच्च हो ।
डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा त्यसको असर नेपाली मुद्रामा देखिएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको छ । अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।
डलरको मूल्य आकाशिएसँगै सवारी साधन आयात लागत पनि महँगिदै गएको छ । अन्तर्राष्ट्रिय बजारमा गाडीको मूल्य नबढे पनि डलरको एक्सचेन्ज रेट बढ्दा व्यवसायीको लागत बढ्दै गएको हो ।
नेपालको अटो बजार पूर्णतः आयातमा निर्भर छ । नेपालमा आयात हुने दुई तिहाई बढी सवारी साधन, स्पेयर पार्टस भारत र चीनबाट आयात हुन्छ । भारतसँग भारुमा कारोबार हुन्छ भने चीनसँग युआन र डलर दुवैमा कारोबार हुन्छ । यी बाहेक अरु सबै देशसँग डलरमै व्यापार हुन्छ ।भारु र युआनमा किनेर ल्याउने गाडीको मूल्य तत्कालै नबढे पनि डलरमा किनेर ल्याउने गाडीको भने बढिहाल्ने देखिन्छ ।
पछिल्लो ९ महिनामै डलरको मूल्य १५ रुपैयाँ बढेको छ । जेठ पहिलो साता १३६ रुपैयाँ रहेको अमेरिकी डलरको भाउ अहिले बढेर १५० रुपैयाँ पुगेको हो ।
नेपालमा हाल आयात हुने धेरै जसो कारको मूल्य अन्तर्राष्ट्रिय बजारमा १५ देखि ३० हजार डलरको बीचमा रहेका छन् । सो आधारमा पछिल्लो ९ महिनामै एउटा कार आयात गर्दा मूल्यमा २ लाखदेखि ४ लाख रुपैयाँसम्म फरक परेको देखिन्छ । साथै, बढेको लागत मूल्यमा भन्सार, अन्तःशुल्क, सडक निर्माण दस्तुर सबै बढ्छ । जसले गाडीको मूल्य झनै बढाउने छ ।
व्यवसयाीहरूले स्टक गाडीमा मूल्य नबढाए पनि नयाँ मोडलमा भने बढाउन थालेका छन् । त्यस्तै डलरको मूल्य वृद्धिले स्पेयर पार्टसको मूल्य बढाउने छ । जसले संचालन खर्च पनि पहिलेको तुलनामा बढ्ने निश्चित छ ।
त्यस्तै, द्धन्द्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य अस्वभाविक वृद्धि भएको छ । पछिल्लो तीन सातामै तेलको भाउ ३० प्रतिशतले बढिसकेको छ । तत्काल युद्ध रोकिने नदेखिएकाले विश्व बजारमा इन्धन अभाव बढ्दै गएको छ । एकातिर पर्याप्त आपूर्ति नहुनु र अर्कोतिर डलरको मूल्य बढ्दा तेलको भाउ झनै बढ्ने देखिन्छ ।
नेपालले इन्धन भारतबाट किनेर ल्याउँछ । भारतले अन्तर्राष्ट्रिय बजारबाट किनेर ल्याउने र नेपाललाई बेच्ने भएकाले विश्व बजारमा मूल्य बढ्दा नेपालमा पनि स्वतः बढ्छ ।
निगमले गत साता पेट्रोलको लिटरमै १५ र डिजलेमा १० रुपैयाँ बढाएको थियो । अन्तर्राष्ट्रिय बजारमा लागातार बढिरहेकाले आगामी दिनमा झनै बढेर आउने छ । इन्धनको मूल्य महँगिँदा सार्वजनिक सवारीकोे भाडादर पनि बढ्छ । भाडादर बढ्दा ढुवानी लागत महँगिने भएकाले समग्र अर्थतन्त्रमै असर पार्छ ।

