बागमती प्रदेशले सवारी साधनबाट उठायो साढे ४ अर्ब कर

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिना (साउन–फागुन)मा झण्डै साढे ४ अर्ब रुपैयाँ सवारी कर उठाएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अनुसार फागुन मसान्तसम्म ४ अर्ब ४४ करोड ९३ लाख ४० हजार रुपैयाँ सवारी कर संकलन गरेको हो ।

यो लक्ष्यको ५४ प्रतिशत हो । प्रदेश सरकारले चालु आवमा सवारी साधनबाट कुल ८ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारी चालक अनुमतिपत्र वितरण तथा नवीकरण, सवारी दर्ता लगायत शीर्षकमा राजस्व उठाउँछ ।

प्रदेश सरकारले उठाएको राजस्व संघीय सरकार र प्रदेश भित्रका स्थानीय तह बीच बाँडफाँट हुन्छ । विद्यमान व्यवस्था बमोजिम प्रदेश सरकारले उठाएको सवारी साधन राजस्व केन्द्र सरकारले ६० प्रतिशत र राजस्व प्रदेश भित्रका स्थानीय निकायले ४० प्रतिशत पाउँछन् ।

बागमती सात प्रदेशमध्ये सबैभन्दा धेरै सवारी साधन दर्ता भएको प्रदेश हो । यो प्रदेशमा करिब २३ लाख सवारी दर्ता छन् ।


Back_to_top