काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्रको संचालन हुने सवारी साधनको भाडादर बढाएको छ ।
इन्धनको मूल्य बढेसँगै प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकासहित प्रदेशभर चल्ने सवारी साधनको भाडादर बढाएको हो ।
प्रदेश सरकारले भाडादर बढाएको सूचना राजपत्रमा प्रकाशित गरेको छ । प्रकाशित सूतना अनुसार काठमाडौं उपत्यकाभित्र संचालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा २५.९६ प्रतिशतले बढाइएको छ ।
त्यस्तै, पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सी सेवामा १२.३९ प्रतिशत, उपत्यका बाहिरका यात्रुवाहक सवारीमा १७.३५ प्रतिशत र मालवाहक सवारी साधनको २६.७९ प्रतिशतले भाडा बढाइएको छ ।
प्रदेश सरकारले विद्युतीय यात्रुवाहक सवारी र ट्याक्सीको भाडा भने यथावत राखेको छ । ईभीको भाडा २०७९ वैशाख १ गते तोकिएकै कायम हुने मन्त्रालयले स्पष्ट पारेको छ ।
अन्तर प्रदेश चल्ने सवारी साधनको भाडा भने यसअघि नै यातायात व्यवस्था विभागले बढाइसकेको छ । प्रदेश सरकारले आफ्नो क्षेत्र भित्र चल्ने सवारीको मात्रै भाडा बढाउन पाउँछ ।


