छिट्टै नेपाल आउने ब्राण्डले ल्यायो ११ मिनेटमै फुलचार्ज हुने सोडियम ब्याट्री

काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्ड बीएआइसीले सोडियम आयोन ब्याट्रीको विकासमा नयाँ सफलता पाएको दावी गरेको छ । कम्पनीका अनुसार ११ मिनेटमा फुल चार्ज हुने उक्त ब्याट्री ‘फोर सी’ चार्जिङ सपोर्ट गर्ने क्षमताको हो ।

आगामी महिनाबाट नेपाली बजारमा आफ्नो कार बिक्री गर्ने लक्ष्य राखेको बीएआइसी ब्राण्ड लक्ष्मी ग्रुप अन्तर्गतको ब्राण्डले बिक्री थाल्दैछ । कम्पनीले ईभी ब्राण्ड आरफक्स र रेगुलर ब्राण्ड बीएआइसीका उत्पादन नेपाल ल्याउन लागेको हो ।

चीनकै ठूलो मध्येको एक सरकारी कम्पनी बीएआइसीका अनुसार नयाँ सोडियम ब्याट्रीले माइनस ४० डिग्री चिसोदेखि ६० डिग्री तातोको स्थानसम्म प्रयोग गर्न सकिन्छ । बीएआइसीले उक्त ब्याट्रीको आन्तरिक सुरक्षा टेस्ट पनि पुरा भएको जनाएको छ । कम्पनीले आगलागी नहुने, बिस्फोट नहुने र २०० प्रतिशतसम्मको ओभर चार्जमा पनि केही नहुने दावीको छ ।

सोडियम आयोन ब्याट्री बीएआइसीको ‘अरोरा ब्याट्री’ कार्यक्रमको हिस्सा हो । अरोरा ब्याट्री कार्यक्रम भित्र लिथियम आयन, सोलिड स्टेट र सोडियम आयन केमेस्ट्री ब्याट्री समावेस छन् । सोडियम ब्याट्रीमा अन्य धेरै कम्पनीले अगाडि बढी सकेका छन् ।

चिनियाँ निर्माताहरुले लिथियममा आधारित ब्याट्रीको सट्टा सोडियममा आधारित ब्याट्रीमा आफ्नो ध्यान केन्द्रित गर्दै आएको छ । यसअघि फेब्रुअरी २०२६ मा सीएटीएलले विश्वको पहिलो सोडियम ब्याट्रीको ब्यवसायीक उत्पादन थालेको थियो ।

अहिले सीएटीएलले उत्पादन गरेको ४५ किलोवाट आवरको सोडियम आयन ब्याट्रीले ४०० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ । बीवाइडीले पनि यो ब्याट्रीमा काम गरिरहेको छ । उसका अनुसार सोडियम आयन ब्याट्रीको लाइफ १० हजार साइकल हुनेछ ।


Back_to_top