बजाजले आफ्नो पल्सर १८० एफलाई पल्सर २२० एफ जस्तै बनाएर भारतीय बजारमा केही दिनअघि सार्वजनिक गरेको थियो ।
एउटै डाइमेन्समा निर्माण भएका दुबै मोडलका धेरै फिचरहरु समान रहेका छन् । यसलाई भारतीय बजारमा सार्वजनिक गरिएपनि बजाज इन्डियाको सार्वाधिक निर्यात हुने मध्यको देश नेपालमा आउँछ वा आउँदैन भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी दिइएको छैन ।
‘हरेक मोडल आउनु अगाडि हामीलाई जानकारी दिने गरिन्थ्यो तर पल्सर १८० एफको विषयमा कुनै आधिकारीक जानकारी आएको छैन । हामीले पनि मिडियामा हेरेर देखेका हौं’ बजाजको नेपालको लागि आधिकारीक बिक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
यसले के प्रस्ट हुन्छ भने पल्सर १८० एफ बाइक तत्काल नेपाल आउने छैन ।
मूल्यको कुरा गर्दा भारतीय बजारमा पल्सर १८० एफको मूल्य पल्सर २२० एफ भन्दा १२ हजार २०० भारतीय रुपैयाँ सस्तो रहेको छ ।
पल्सर १८० एफमा २२० एफमा जस्तै आफ फियरिङ प्रजेक्टर हेडल्याम्प र पाइलट ल्याम्प दिइएको छ । यसको फ्युल ट्याङ्कमा नयाँ थ्रीडी पल्सर लोगो दिइएको छ । साथै नियोन कलरमा समेत यो नयाँ पल्सर उपलब्ध रहेको छ ।
दुबै मोडलमा एउटै क्लिपअन हेन्डलबार दिइएको छ । दुबैको इन्स्ट्रुमेन्ट क्लस्टर समेत एउटै रहेको छ । दुबै मोडलमा एउटै इन्जिन वेली कभर दिएको छ । सस्पेन्सन पनि दुबैमा एउटै दिइएको छ ।
बजाज पल्सर १८० एफमा १७८.६ सीसी टु–भल्व, एयर कुल्ड डीटीएसआई इन्जिन दिइएको छ । जसले १७ बीएचपी पावर र १४.२ एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै २२० पल्सर एफमा २२०सीसीको इन्जिन दिइएको छ, जसले २१ बीएचपी पावर र १९ एनएम टर्क जेनेरेट गर्छ ।
यी दुबै इन्जिनमा ५ स्पीड गियरबक्स दिइएको छ । यी दुबै बाइकको अगाडी चक्कामा २६० एमएम डिस्क ब्रेक दिइएको छ भने, पछाडि चक्कामा २३० एमएम डिस्क ब्रेक रहेको छ ।
दुबै नयाँ पल्सर मोडलमा सिंगल च्यानल एबीएससमेत दिइएको छ ।


