बन्द भएको ४ वर्षपछि ‘कमब्याक’ गरेको पल्सर १८०, फर्काउला विरासत ?

काठमाडौं । बजाज अटोले विगतमा आफ्नो चर्चित मोडल पल्सर १८० पुनः बजारमा ल्याएको छ । कम्पनीले उत्पादन बन्द गरेको ४ वर्षपछि पल्सर १८० लाई आधुनिक फिचरसहित बजारमा ल्याएको हो ।

बजाजले पहिलो पटक सन् २००१ मा पल्सर १८० मोडल बजारमा ल्याएको थियो । २ दशकसम्म ग्राहकको मन जित्न सफल पल्सर १८० भारतमा बीएस ६ मापदण्ड अनिवार्य लागू भएसँगै सन् २०२२ मा उत्पादन बन्द भएको थियो । त्यसको ४ वर्षपछि अपग्रेड फेरि उपलब्ध गराएको हो ।

कम्पनीले भारतीय बजारमा पल्सर १८० को मूल्य १ लाख २२ हजार रुपैयाँ (एक्स शोरुम) तोकेको छ । यो पल्सर १५० भन्दा १२ हजार भारु मात्रै बढी हो ।

बजार पल्सर १८० नेपालमा पनि निकै लोकप्रिय मोडल थियो । यो सन् २००१ मा भारतमा बिक्री सुरू भए लगत्तै नेपाल भित्रिएको थियो । आकर्षक डिजाइन र पावरफुल इन्जिनका कारण नेपाली युवापुस्ताको रोजाइमा परेको थियो ।

भारतमा बिक्री हुने बजाज पल्सर सिरिजका प्रायः सबै मोडल नेपालमा पनि उपलब्ध छन् । त्यसैले विगतमा धेरैको रोजाइ बनेको पल्सर १८० अब चाँडै नेपाल आउने सहजै अनुमान गर्न सकिन्छ । नेपालमा बजाजका मोटरसाइकल हंशराज हुलासचन्द एण्ड कम्पनीले बिक्री गर्दै आएको छ ।

यस्तो छ नयाँ पल्सर १८०

४ वर्षपछि बजारमा आएको नयाँ पल्सर १८० मा नयाँ हेडलाइट र आधुनिक फिचरहरू थपिएका छन् । मोटरसाइकलमा नयाँ लुक्स र ग्राफिक्स डिजाइनका साथै कनेक्टिभिटी सिस्टम सहितको रिभर्स किसिमको डिजिटल क्लस्टर दिइएको छ ।

५ कलर अप्सनमा बजारमा आएको पल्सर १८० मा डबल डिस्कब्रेक, एबीएस, एलईडी लाइट सेटअप, चार्जिङ पोर्ट, टेलिस्कोपिक फोर्क, रियर ट्वीन सक अब्जर्बार, अलोय ह्वील, ट्युबलेस टायर र १५ लिटरको फ्युल ट्याकं पाउन सकिन्छ ।

मोटरसाइकलमा १७८.६ सीसीको सिंगल सिलिण्डर, एयर कुल्ड, फोर स्ट्रोक, एफआई, बीएस ६, डीटीएसआई इन्जिन छ । यो इन्जिनले अधिकतम १७ एचपी पावर र १५ एनएम टर्क जेनेरेट गर्छ। पुरानो मोडलको तुलनामा यसको पावर उस्तै रहे पनि टर्क भने ०.८ एनएमले बढाइएको छ ।

१८० बजाज पल्सर सिरिजमा नयाँ विकल्प बनेर थपिएको छ । पल्सर सिरिजमा १५० र २०० को बीचमा नयाँ स्वरुप र आधुनिक फिचरमा आएकाले यसले आफ्नो विरासत फर्काउन सक्ने सम्भावना देखिन्छ ।


Back_to_top