काठमाडौं । भावी प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी अभियानमा क्रममा प्रायः हरेक स्थानमा जाँदा फरक फरक गाडी चढे । कोशी भ्रमणमा चढेको ल्याण्ड रोभर डिफेण्डर विवादमा समेत आयो ।
सुदूरपश्चिम जाँदा भने उनले मोटरसाइकल पनि चढे । डडेलधुराबाट दार्चुला जाने क्रममा क्रसफायर मोटरसाइकलमै यात्रा गरेका थिए । त्यसको सामाजिक संजालमा निकै चर्चा समेत भएको थियो ।
गाडी र मोटरसाइकल दुवै चलाउन रुचाउने बालेन मोटरसाइकलको सौखिन समेत रहेका छन् । उनले हालै प्रिमियम मोटरसाइकल खरिद गरेका छन् । जापानी ब्राण्ड होण्डाको सीआरएफ ३०० र्याली मोटरसाइकल किनेका हुन् ।
उनले काठमाडौंमा रहेको होण्डाको एउटा शोरुमबाट गत साता उक्त मोटरसाइकल खरिद गरेका हुन् । शोरुम स्रोतका अनुसार उनले आफैंले चढ्ने गरी उक्त मोटरसाइकल किनेका हुन् ।

‘भावी प्रधानमन्त्री बालेन शाह मोटरसाइकलको सौखिन हुनुहुँदो रहेछ । उहाँले हालै हाम्रो शोरुमबाट सीआरएफ ३०० किन्नु भएको थियो । त्यो उहाँ आफैंले चढ्ने बताइएको छ,’ शोरुम स्रोतले भन्यो ।
नेपाली बजारमा होण्डाको सीआरएफ ३०० र्याली मोटरसाइकलको मूल्य २३ लाख ५० हजार रुपैयाँ रहेको छ ।
अगाडि नम्बर प्लेट राख्न कष्टमाइज गर्नुपर्ने बाध्यता
अफरोड एड्भेन्चर डिजाइनको होण्डा सीआरएफ ३०० मा अगाडिको भागमा नम्बर प्लेट राख्ने ठाउँ छैन । विश्वका धेरै देशमा पछाडि मात्र नम्बर प्लेट राखे हुन्छ । अझ रेस ट्रयाक वा आफ्नो निजी फार्ममा मात्र चलाउँदा नम्बर प्लेट नै आवश्यक पर्दन ।
तर, नेपालको कानुन (सवारी तथा यातायात व्यवस्था ऐन, २०४९) अनुसार कुनै पनि सवारी साधनको अगाडि र पछाडि दुवै स्थानमा तोकिएको साइजमा नम्बर प्लेट राख्नुपर्ने व्यवस्था छ । ऐनको दफा ३१ मा प्रत्येक सवारीको अगाडि र पछाडि भागमा दर्ता नम्बर देखिने गरी प्लेट राख्नुपर्ने उल्लेख छ । नम्बर प्लेट नराखी वा नदेखिने गरी सवारी चलाएमा जरिवाना र सजाय समेत भोग्नुपर्छ ।
होण्डा सीआरएफ ३०० मोटरसाइकलमा अगाडि प्लेट राख्ने ‘कम्पनी फिटेड’ ठाउँ छैन । त्यसैले नेपालमा यसलाई ‘कस्टमाइज’ गरेर अगाडिको नम्बर प्लेट राख्ने ठाउँ बनाउनुपर्छ । प्रायःले वर्कशपमा लगेर फलामको स्ट्याण्ड थपेर नम्बर प्लेट राख्ने गर्छन् ।

देशलाई नै ‘ड्राइभ’ गर्ने स्टेरिङ समात्न लागेकाबालेनले अफरोड एड्भेन्चर डिजाइनका मोटरसाइकलमा नम्बर प्लेट राख्न झेल्नु परेको झन्झट हटाउन पक्कै केही काम गर्लान् । अपेक्षा गरौं ।
यस्तो छ मोटरसाइकल
होण्डा सीआरएफमा २८६ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्भ डीओएचसी इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम २७.३२ पीएस पावर तथा २६ एनएम टर्क जेनेरे गर्छ । यसमा ६ स्पिडको गियर बक्स उपलब्ध छ ।
मात्र १५० किलोग्राम तौल भएको होन्डा सीआरएफ ३०० र्याली प्रपर एड्भेन्चर डिजाइनको मोटरसाइकल हो । यसमा प्रयोग गरिएको बडि फ्रेम र अन्य पार्टसहरू एकदमै हलुका किसिमको पाइन्छ । त्यसैले यसको कुल तौल १५० किलोग्राम मात्रै भएको हो ।
मोटरसाइकलमा लङ ट्राभल सस्पेन्सन सेटअप, १२.८ लिटरको इन्धन ट्याकं, चौडा र ठूलो सिट, वायर स्पोक ह्वील, डबल डिस्क ब्रेक, डबल च्यानल एबीएस, डिजिटल कन्सोल, पुरा एलईडी लाइट सिस्टम, फोल्डिङ पेडल, श्राउड एण्ड स्किड प्लेट र र्याली विन्डस्क्रीन जस्ता फिचरहरू छन् ।

