काठमाडौं । मारुती सुजुकीको सफल प्रिमियम ह्याचव्याक कार बलेनोको फेसलिफ्ट मोडल भारतमा सार्वजनिक भएको छ । कम्पनीले थुप्रै आधुनिक फिचर दिएर नयाँ बलेनो सार्वजनिक गरेको हो ।
मारुती सुजुकीले भारतमा ६ लाख ३५ हजारदेखि ९ लाख ४९ हजार भारुसम्म मूल्य कायम गरेर बलेनोको विक्री सुरु गरेको हो । विभिन्न ४ भेरियन्टमा यसलाई बजारमा ल्याइएको छ । सिग्मा, डेल्टा, जेटा र अल्फा भेरियन्ट र ६ कलर अप्सन ग्राहकले पाउने छन् ।
मारुती सुजुकीले पहिलो पटक बलेनोको टप भेरियन्टमा हेडअप डिस्प्ले दिएको छ । यस डिस्प्लेमा इन्धनको अवस्था, स्पीड रिडिङ, आरपीएम ग्राफिक्स, टाइम र गियर सेलेक्सन इन्डिकेटर देख्न सकिन्छ । यो फिचरसँगै बलेनो सेग्मेन्टमै पहिलो हेडअप डिस्प्ले फिचर भएको कार भएको छ । साथै, ३६० डिग्री क्यामेरा, अटो डिमिङ आइआरभीएम, हाइट एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट, सुजुकी कनेक्ट टेक जस्ता फिचर प्रदान गरिएको छ ।

नयाँ बलेनोको अगाडिको सम्पूर्ण भागमा परिमार्जन देख्न सकिन्छ । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण मानिने हेडल्याम्पमा देखिनेगरी परिवर्तन भएको छ । एडइडी डे टाइम रनिङ लाइटसहितको नयाँ हेडल्याम्प सेटअपले कारलाई निकै आकर्षण देखाएको छ । हेडलाइट जस्तै नयाँ बलेनोको टेललाइट पनि परिवर्तन भएको छ । अब बलेनोमा र्याप अराउण्ड एलइडी टेललाइट पाउन सकिन्छ ।
बनेको ग्रिल पनि परिवर्तन भएको छ । नयाँ ग्रिलमा वाइड साइजको सेन्ट्रल एयरइन्टेक दिइएको छ । साथै, फगल्याम्प हाउजिङको डिजाइन पनि पूर्णत नयाँ दिइएको छ । यसमा १६ इन्चको ड्यूल टोन अलोय ह्वील दिइएको छ ।
नयाँ २०२२ डिजाइन बलेनोमा नयाँ ९ इन्चको फ्लोटिङ एचडी क्वालीटीको इन्फोटेन्मेन्ट सिस्टम रहनेछ । यसमा एप्पल कार प्ले, अन्ड्रोइड अटो र सुजुकी कनेक्टको सुविधा उपलब्ध हुनेछ । बलेनोमा आर्कामसको म्यूजिक सिस्टम रहने छ ।
नयाँ बलेनो १.२ लिटर फोर सिलिण्डर ड्यूल जेट भीभीटी पेट्रोल इन्जिनमा आएको छ । उक्त इन्जिनले ६००० आरपीएममा ९० पीएस पावर र ४४०० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्नेछ ।

