काठमाडौं । टाटा मोटर्सलाई नेपाली पेसेन्जर कार सेग्मेन्टमा स्थापित गराउन सफल टाटा नेक्सन स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स् र लक्जरीको हिसाब सब फोर मिटर सेग्मेन्टमा उत्कृष्ट सावित भइसकेको छ ।
सन् २०१६ देखि नेपाली बजारमा उपलब्ध मारुती सुजुकी ब्रेजाले २०२० मा पेट्रोल इन्जिन दिएसँगै नेपाली अटो इतिहासमा नै एक वर्षमा सबैभन्दा धेरै विक्री भएको मोडलमा आफुलाई स्थापित गर्न सफल भएको छ । सन् २०२१ मा १ हजार ९८४ यूनिट विक्री भएको ब्रेजा र ७०७ यूनिट विक्री भएको नेक्सन एक अर्काका मुख्य प्रतिस्पर्धी मोडल हुन् ।
टाटा नेक्सन पेट्रोल, डिजेल र इलेक्ट्रीक अप्सनमा उपलब्ध भएपनि माथि उल्लेख भएको तथ्यांकमा इलेक्ट्रीक समावेस भएको छैन । सन् २०२१ मा १५३ यूनिट नेक्सन इभी आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालमा सब फोर मिटर सेग्मेन्टमा १.५ लिटर इन्जिन भएको ब्रेजा एउटा मात्रै मोडल हो । अहिले पनि ग्राहकलाई इन्जिन पावरभन्दा स्मुद ड्राइभिङ महत्वपूर्ण लाग्छ । जुन ब्रेजामा पाउन सकिन्छ ।
पावर र एटिट्युट
मारुती सुजुकी ब्रेजामा १.५ लिटर, ४ सिलिण्डर के१९बी पेट्रोल इन्जिन रहेको छ । टाटा नेक्सनमा भने १.२ लिटरको टर्बो चार्ज्ड थ्रि सिलिण्डर पेट्रोल इन्जिन पाउन सकिन्छ ।

ब्रेजाको इन्जिनले अधिकतम ६ हजार आरपीएममा १०५ पीएस र ४ हजार ४ सय आरपीएममा १३८ एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै नेक्सनमा रहेको इन्जिनले अधिकतम ६ हजार आरपीएममा १२० पीएस पावर र ४ हजार आरपीएममा १७० एनएम टर्क जेनेरेट गर्छ ।
साथै, नेक्सनमा १.५ लिटर टर्बो डिजेल इन्जिन पनि पाउन सकिन्छ । उक्त इन्जिनले ११० हर्स पावर तथा २६० एनएम टर्क प्रदान गर्छ ।
ब्रेजा ५ स्पीड म्यानुअल गियरबक्स उपलब्ध छ भने टाटा नेक्सन ६ स्पीड म्यानुअल र एएमटी दुबै अप्सन पाउन सकिन्छ । माइलेज पनि यी दुबै गाडीको लगभग समान रहेको छ ।
लम्बाईमा २ मिलिमिटर बढी लामो ब्रेजा चौडाईमा भने केक्सन भन्दा २१ एमएम छोटो छ । त्यही कारण ब्रेजामा भन्दा धेरै ठाँउ नेक्सनमा पाउन सकिन्छ । उचाईमा भने ब्रेजा ३४ एमएमले अग्लो रहेको छ । त्यही कारण ब्रेजा बल्की देखिन्छ ।
क्र्यास टेष्ट
सवारी साधनको सुरक्षा मुल्याङ्कन गर्ने विश्वव्यापी मान्यता प्राप्त ग्लोबल एनक्यापको क्रयास टेस्टमा दुबै गाडी परिषण भएका छन् । यस परिक्षणमा टाटाको नेक्सनले एडल्ट अकुपेन्सीमा ५ स्टार र चाइल्ड अकुपेन्सीमा ३ स्टार रेटिङ पाएको छ ।
सुजुकी ब्रेजाले एडल्ट अकुपेन्सीमा ४ स्टार र एडल्ट अकुपेन्सीमा २ स्टार मात्र प्राप्त गरेको छ ।
ग्राउन्ड क्लियरेन्स
ग्राउन्ड क्लियरेन्सको तुलना गर्दा पनि टाटा नेक्सन अगाडि देखिन्छ । टाटा नेक्सनमा २०९ र ब्रेजामा १९८ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । दुबै कारमा ह्वीलवेस पनि लगभग समान २५०० एमएमको पाउन सकिन्छ ।
डिजाइन
ब्रेजाको डिजाइन सुजुकी आईभी–फोर र एक्सए–अल्फाबाट धेरै प्रभावित छ । ब्रेजामा ठूलो एयरभेन्ट सहितको आकर्षक बम्पर, ब्ल्याक–आउट फग लाइट केसिङ र फल्स स्कीड प्लेट दिइएकोले स्पोर्टी देखाएको छ ।

नेक्सनमा राउण्डेड व्हील आर्चेजलाई समन्वय गरी राम्ररीे डिजाइन गरिएको छ । यसले नेक्सनलाई थप बलियो र मजबुत देखाउँछ । अगाडिको ग्रिल र लाइटहरुको उत्कृष्ट डिजाइनकै कारण नेक्सन युवा चालकको रोजाईमा पर्न सफल भएको छ ।
आरामदायी ड्राइभिङ
नेक्सनमा तीन फरक ड्राइभिङ मोड स्पोर्ट्स, इको र सिटी पाउन सकिन्छ । चालकले आफ्नो आवस्यकता अनुसारको स्पीड र मोडमा चलाउन यसको प्रयोग गर्छन् ।
ड्राइभ मोडकै कारण नेक्सनमा यात्रा गर्दा चिल्लो, ग्राभेलिङ्ग तथा कच्ची बाटोमा समेत सहज हुन्छ । नेक्सनमा रियर एसी भेन्ट्स, वेयरेबल की फुल्ली डिजिटल इन्टुमेन्ट क्लस्टर र फलो मी होम लाइटिङ जस्ता सुविधाले चलाकलाई सहज बनाउछ । तर, सुजुकी ब्रेजामा यी अत्याधुनिक फिचर छैनन् । सुजुकीको लिगेसी र परम्परागत चालकको रोजाईमा ब्रेजा निकै अगाडि देखिन्छ ।
इन्टेरियर
मारुती सुजुकी भिटारा ब्रेजामा कम्फी र अन्डरस्टेटेड इन्टेरियर भएका कारण क्याविनमा धेरै ठाउँ पाउन सकिन्छ । साथै, चालक र यात्रुको लागि खुट्टा र काँधको लागि पर्याप्त ठाउ रहेको छ ।
नेक्सनको इन्टेरियरमा सेन्टर कन्सोल क्लटर–फ्री छ । जसमा केवल एक फ्लोटिङ इन्फोटेनमेन्ट प्यानल राखिएको छ । नेक्सनमा थप विषेशताको रुपमा सनरुफ समेत पाउन सकिनछ ।
मूल्य र सर्भिस सेन्टर
नेपाली बजारमा विभिन्न भेरियन्टमा उपलब्ध टाटा नेक्सनको मूल्य ३५ लाख ९९ हजारदेखि ५३ लाख ९० हजारसम्म पर्छ । मारुती सुजुकी ब्रेजाको मूल्य ४२ लाख ४९ हजारदेखि ४७ लाख ५४ हजारसम्म रहेको छ ।
नेपालका लागि मारुती सुजुकीको आधिकारीक वितरक सीजी मोटोकर्पले मारुतीको सर्भिस सेन्टर देशको प्रमुख सहरहरुमा विस्तार गरिसकेको छ ।
त्यस्तै टाटा मोटर्सका लागि नेपालको आधिकारीक वितरक सिप्रदी ट्रेडिङको पनि देशैभर सर्भिस सेन्टरहरु रहेका छन् ।
अन्तिम रोजाई
प्रफर्मेन्स, डिजाइन, फिचर्स् र लक्जरी आदिको हिसावले ब्रेजाभन्दा नेक्सन अगाडि देखिन्छ । तर, बल्की लुक्ससहितको कम्प्याक्ट एसयूभी चाहनेहरुको रोजाईमा मारुती सुजुकी ब्रेजा पर्न सक्छ । ब्रेजाको लागि कम आवाज आउनु र निकै सफल इन्जिन प्रयोग हुनु सबल पक्ष हो ।
नयाँ डिजाइन, टर्बो इन्जिन र आधुनिक फिचर नेक्सनको सवल पक्ष देखिन्छ ।


