काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका-४ दावाँस्थित सेतीबगरमा बस दुर्घटनामा परेको छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा फागुन २१ गते हुने निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापनाका लागि जाँदै गरेको ना. ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको हो ।
उक्त बसमा सेनाको श्रीनाथ गणको टोली सवार बस सडकबाट करिब २०० मिटर तल खसेको भोजपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ ।
सामान्य घाइते भएकाहरूको भोजपुर अस्पतालमा उपचार भइरहेको छ ।

