काठमाडौं । बीवाइडीले आफ्नो इन्ट्री लेभल एसयूभी एटो टुको हाइब्रिड मोडललाई फुल चार्ज र फुल ट्याङ्की इन्धनबाट १००० किलोमिटर रेन्ज दिने गरी बजारमा ल्याएको छ ।
नेपाली बजारमा समेत अहिले निकै चर्चामा रहेको एटो टुको डीएम-आई हाइब्रिड सिस्टमसहितको नयाँ मोडल कम्पनीले स्पेनको बार्षिलोनामा सार्वजनिक गरेको हो । नयाँ प्लग इन हाइब्रिडसँगै एटो टु पनि दुई इन्धन अप्सनमा उपलब्ध भएको छ ।
कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार नयाँ हाइब्रिड एसयूभीको प्योर ब्याट्री इलेक्ट्रीकको रेन्ज ९० किलोमिटर छ । यसमा दिएको इन्जिनले केबल १.८ लिटर पेट्रोलबाट १०० किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दावी छ । फुल ट्याङ्की तेल र फुल चार्ज मिलाउँदा १०२० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दावी छ ।
हाइब्रिड एटो टुको साइज पनि प्योर ईभी जस्तै ४.३ मिटर छ । १७ इन्चको ह्वील, सबै एलइडी लाइट, अगाडि र पछाडि नै कनेक्टेड लाइटबार रहेको हाइब्रिड मोडल पनि ठ्याक्कै प्योर ईभी जस्तैछ ।
कम्पनीले इन्टेरियरमा १२.८ इन्चको टच स्कृन, भेगन लेदर सिट, एम्बियन्ट लाइट, भेहिकल टु लोड सुविधा, पानारोमिक सनरुफ जस्ता फिचर दिएको छ । हाइब्रिड मोडलको संयुक्त पावर १२२ किलोवाट रहेको छ । बुस्ट मोड प्रयोगगर्दा मोटर पावर बढेर १५६ किलोवाटसम्म पुग्नेछ ।
अब स्कृन रोटेड नहुने
बीवाइडीले यसअघि रोटरी स्कृन प्रयोग गर्दै आएकोमा अब हटाउने भएको छ । ग्राहकले रोटरी स्कृन मन पराएपनि कम प्रयोगमा नआउने भएकोले हटाउने निर्णय गरेको कम्पनीले जनाएको छ ।
बीवाइडीका भाइस प्रेसिडेन्ट स्टेला लीका अनुसार चालकहरुलाई गाडीमा रहेको रोटरी स्कृन मनपरेपनि एन्ड्रोइड र आईओएसका सफ्टवेटहरुले भर्टिकल लेआउट सपोर्ट नगर्ने भएकाले कम प्रयोग हुने हुँदा हटाउन लागिएको हो ।
भाइस प्रेसिडेन्ट लीका अनुसार बीवाइडी एटो टु गुगल र एप्पल कारप्ले सपोर्ट गर्ने पहिलो मोडल बनेको छ ।

