डिसेम्बरको अन्तिम १५ दिनमै साइमेक्स इंकले ल्यायो ७१८ युनिट कार

काठमाडौं । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले डिसेम्बरको अन्तिम १५ दिनमा नै ७१८ युनिट कार आयात गरेको छ ।

कम्पनीले सन् २०२५ (जनवरी १-डिसेम्बर ३१)मा कुल ३ हजार ४४८ युनिट कार आयात गरेको भन्सार तथ्यांकमा देखिएको छ । मध्ये अन्तिम १५ दिनमा मात्रै ७१८ युनिट भित्र्याएको हो । कम्पनीले जनवरी १ तारिखदेखि डिसेम्बर १५ तारिखसम्म २ हजार ७३० युनिट गाडी आयात गरेको थियो ।

कम्पनीले डिसेम्बर अन्तिममा ठूलो परिमाणमा कार ल्याएसँगै आफ्नो प्रतिस्पर्धीभन्दा बीवाइडी निकै अगाडि देखिएको हो । साइमेक्स इंकले सन् २०२४ मा आयात गरेको ३ हजार ५३० युनिट कार आयात गरेको थियो । अघिल्लो वर्षको तुलनामा २०२५ मा कम्पनीले केबल ८२ युनिट कम हो ।

बीवाइडीले सन् २०२५ मा आफ्नो चर्चित एसयूभी एटो थ्री, ह्याचब्याक कार डल्फिन र एटो वानसँगै एटो टु एसयूभी राम्रो संख्यामा आयात गरेको देखिन्छ । कम्पनीले पछिल्लो दिनमा ल्याएको एसयूभीमा एटो टु सबैभन्दा धेरै छ ।

कम्पनीले सिलायन सेभेन, सार्क पीकअप र एम सिक्स एमपीभी पनि आयात गरेको छ । बजारमा प्रतिस्पर्धी धेरै भए पनि बीवाइडीले अघिल्लो वर्षको आयात युनिटलाई लगभग कायम राख्न सफल भएको देखिन्छ ।

बीवाइडीको सफलतामा कम मूल्यमा उपलब्ध नयाँ मोडलहरूले निकै ठूलो सहायता गरेको देखिन्छ । कम्पनीले एटो वान र एटो टुलाई एक साथ बजारमा ल्याएको थियो । भदौमा बजारमा आएका यी दुई मोडलको सहायताले कम्पनीले अघिल्लो वर्षको आयात युनिट भेट्टाउन सफल भएको देखिन्छ ।


Back_to_top