बीवाइडी ‘इ-सिक्स र एमथ्री’को बढ्यो मूल्य

काठमाडौं । बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले आफ्नो दुई मोडल नयाँ इ सिक्स र एमथ्री मोडलको मूल्य बढाएको छ । कम्पनीले यी दुई मोडलमा क्रमशः १ लाख ५० हजर र १ लाख २ हजार रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

कम्पनीले यसअघि नै चाँडै आफ्ना विद्युतीय गाडीको मूल्य समायोजन गर्नु पर्ने अवस्था आएको जनाएको थियो । विशेषत डलरको एक्सचेन्ज रेटमा भएको वृद्धिले डलरको मूल्य बढ्दा गाडीको मूल्य बढाउनु परेको साइमेक्स इंकले जनाएको छ ।

कम्पनीले विगत केही महिनादेखि डलरको एक्सचेन्ज रेट उकालो लाग्दा मूल्य बढाउनु पर्ने बाध्यता आएको भन्दै ग्राहकहरुलाई अहिलेको अवस्था बुझिदिन आग्रह समेत गरेको छ ।

मूल्य वृद्धिको विषयमा ग्राहकलाई पर्न गएको असरको विषयमा साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठ भन्छन्, ‘हामीले सन् २०२१ मा नेपालमा बीवाइडी इ सिक्स सार्वजनिक गर्दा जुन मूल्य तोकेका थियौं, निरन्तर त्यसमै विक्री गरिरहेका थियौं । तर, पछिल्लो १५/१६ महिनामा डलरको एक्सचेन्ज रेटमा ब्यापक वृद्धि भएको कारण हामीले मूल्य बढाउनु परेको हो । तर, यसअघि नै बुकिङ गरेर बसेका ग्राहकले पुरानै मूल्यमा गाडी पाउने छन् ।’

बीवाइडी इ सिक्सको नयाँ जेनेरेशन मोडल राम्रो संख्यामा विक्री हुँदै आएको मोडल हो । बीवाइडीको ब्लेड ब्याट्री प्रयोग भएको कारण सुरक्षाको हिसावले अब्बल र लङ रेन्जको लागि उपयुक्त रहेको छ ।

नयाँ इ सिक्समा कम्पनीले ७१.७ किलोवाट आवर क्षमताको ब्याट्री र ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । फुलचार्जमा यसको रेन्ज ५२२ किलोमिटर रहेको छ । साथै, ग्राहकले ७ किलोवाट क्षमताको एसी चार्जर पनि गाडीसँगै पाउने छन् ।

एमथ्री ७ सिट क्षमताको गाडी हो । ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री उपलब्ध एमथ्री निकै आरमदायी भ्यान हो । एक पटकको फुल चार्जमा २७५ किलोमिटर रेन्ज प्रदान गर्ने एमथ्रीमा १०० किलोवाट आवरको मोटर दिइएको छ । यसमा पनि ७ किलोवाट क्षमताको एसी चार्जर ग्राहकले पाउने छन् ।


Back_to_top