तेलको मूल्य बढ्दा ईभी उत्पादकलाई फाइदा, सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं । मध्यपूर्वमा चर्किएको द्धन्द्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा विद्युतीय सवारी साधन उत्पादकलाई भने फाइदा पुग्न थालेको छ ।

लगानीकर्ताहरू ईभी कम्पनीको सेयरतर्फ आकर्षित हुन् थालेका हुन् । विश्वकै ठूलो ईभी उत्पादक बीवाइडीको सेयर मूल्य सोमबार एकैदिन ८ प्रतिशतसम्मले बढेको छ । यद्यपि, बजार बन्द हुँदा भने ४.९२ प्रतिशत वृद्धि भएको छ ।

सोमबार सेन्जेन स्टक एक्सचेन्जमा सूचीकृत बीवाइडीको सेयर मूल्य प्रतिकित्ता ४.९२ प्रतिशतले वृद्धि भई १०८.१० युआन (१५.६७ अमेरिकी डलर) पुगेको छ । जुन अक्टोबर २०२५ पछिकै उच्च स्तर हो।

बीवाइडीको सेयर मूल्यमा उच्च वृद्धि हुँदा सांघाइ कम्पोजिट इन्डेक्स, सान्जेन कम्पोनेन्ट इनडेक्स र चीनेक्स इन्डेक्स जस्ता प्रमुख चिनियाँ सूचकहरू भने ३ प्रतिशतभन्दा बढीले घटेका छन्। यसले ईभी क्षेत्रप्रति लगानीकर्ताको विश्वास अझै बलियो रहेको संकेत गर्दछ।

चीनमा पेट्रोलको मूल्य पुनः बढाउने तयारी भइरहँदा इन्धन सवारी प्रयोग महँगो बन्दै गएको छ। नियामक निकाय नेशनल डेभलपमेन्ट एणड रिफर्म कमिशनले मूल्यवृद्धि नियन्त्रणका लागि केही अस्थायी उपायहरू लागू गरे पनि इन्धन खर्च बढ्ने निश्चित जस्तै देखिन्छ। यसले ईभी क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

बीवाइडीले सन् २०२२ मै पेट्रोल–डिजेल सवारी उत्पादन पूर्ण रूपमा बन्द गरिसकेको छ। २०२५ मा कम्पनीले २२ लाखभन्दा बढी ब्याट्री इलेक्ट्रीक सवारी बिक्री गर्दै टेस्लालाई समेत उछिन्नेको थियो । साथै, यसको प्लगइन हाइब्रिड सवारीको बिक्री पनि उच्च रहेको छ।

हालै कम्पनीले नयाँ ‘ब्लेड ब्याट्री’ र ५ मिनेटमै १० प्रतिशत बाट ७० प्रतिशत सम्म चार्ज गर्न सकिने फास्ट चार्जिङ प्रविधि सार्वजनिक गरेको छ। साथै, २०२६ सम्म २० हजार चार्जिङ स्टेशन विस्तार गर्ने योजना सहित बीवाइडीले ईभी बजारमा आफ्नो नेतृत्व अझ मजबुत बनाउने संकेत दिएको छ।


Back_to_top