लाइसेन्सको झुटो विवरण इन्ट्री गर्ने दुई कर्मचारी विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी अनुमतिपत्र (लाइसेन्स)को अभिलेखमा झुटो विवरण इन्ट्री गराउने दुई कर्मचारी र एक मतियारविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले शुक्रबार यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) पोखराका तत्कालीन प्रशासन अधिकृत शंकर थापा र तत्कालीन कम्प्युटर अपरेटर जगत ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरू विरुद्ध लाइसेन्स वितरण गर्दा अनियमितता भएको उजुरीपछि अनसुन्धान गर्दा भ्रष्टाचार गरेको देखिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार उनीहरूले कार्यालयको अभिलेख बमोजिम हिमबहादुर बस्नेत थापाको नाममा ए र बी वर्गको पुरानो सवारी चालक अनुमति पत्र जारी नै नभएको जानकारी हुँदाहुँदै गैरकानुनी तरिकाले सच्याउने र हेरफेर गरेको पाइएको छ ।

अख्तियारले प्रशासन अधिकृत थापा र ढकाल विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको माग गरेको छ । त्यस्तै बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कसुरजन्य कार्यको गैरकानुनी लाभ लिने प्रकृतिको मतियार भएको भन्दै कारबाहीको माग गरिएको छ ।


Back_to_top