काठमाडौं । चाबहिल-साँखु सडक विस्तारको काम अझै १ वर्ष लम्बिने भएको छ । केही समय यता धमाधम कालोपत्रे हुन थालेको चाबहिल–साँखुको सडकखण्डको काम फेरी रोकिने भएको हो ।
काठमाडौं सडक विस्तार आयोजनाका अनुसार हालसम्म बौद्ध गेट नजिकसम्म सडक कालोपत्रे गर्ने काम भइसकेको छ ।
आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठले चालू आर्थिक वर्षभित्र सकाउने भनेको सो सडकखण्डको निर्माण पुरा हुन अझै १ वर्ष लाग्न सक्ने जानकारी दिए ।
उनका अनुसार ठेकेदार कम्पनी आर्थिक समस्यामा परेकाले काम प्रभाबित भएको र अझै केही समय थप लाग्ने भएको हो । ‘हाम्रो कन्ट्रयाकटर आर्थिक समस्यामा परेको छ, हामीसँग बजेट पुग्ने छ तर, ठेकेदारसँग लगानी गर्न पैसा भएन । उनीहरुले काम नगरेसम्म हामीले पैसा दिने कुरा हुँदैन’ श्रेष्ठले मेरोअटोसँग भने ।
चाबहिल–साँखु सडक खण्डको कुल लम्बाई ११.५६ किलोमिटर रहेको छ । सो सडक खण्डको निर्माण ५ ठेकेदारले ठेक्का लिएका छन् ।
युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स, बज्रगुहरु च्याङमिला/खानी, बज्रगुरु/विरुवा/खानी, बी.टी./सुनकोशी/वल्र्डवाइड जेभी, लामा/समानान्तर जेभीले सो सडकखण्डको ठेक्का पाएका हुन् । यद्यपी कुन कम्पनी आर्थिक समस्यामा परेको हो भन्ने विषयमा भने उनले केही खुलाएनन् ।
उक्त सडकखण्ड बिस्तारको लागि कुल १ अर्ब ७३ करोड ५४ लाख १५ हजार रुपैयाँ बजेट छुटाइएको थियो ।
यसअघि दाँया–बाँया स्थानिय बासिन्दाहरुबाट जग्गासहितको क्षतीपूर्ति माग गर्दै सडक विस्तारमा अवरोद्ध गरेका थिए । यस्तै सर्वोच्व अदालतले समेत सो सडकखण्डका केही स्थानमा मुआब्जा नतिरी वितार अघि नबढाउन अन्तरिम आदेश दिएको थियो ।

