लगातार डिसी चार्जर प्रयोग गर्न मिल्ने कार नेपाल आउने, मूल्यपनि कम

काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको पहिलो इलेक्ट्रीक कार नेपाल आउने भएको छ । लगातार डिसी चार्जरको प्रयोग गर्न मिल्ने सिट्रोनको सीथ्री इलेक्ट्रीक कार साँग्रिला मोटर्सले जेठ अन्तिमसम्ममा नेपाल ल्याउने तयारी गरिरहेको हो ।

विद्युतीय कार एकपछि अर्को नेपाल आइरहेको समयमा सिट्रोनको इलेक्ट्रीक मोडल थपिने भएको हो । अहिले बजारमा टाटा, हुन्डाई, एमजी, बीवाइडी लगायतका ब्राण्डले ईभी बिक्री गर्दै आएका छन् । उत्पादन मूल्यका हिसावले महंगो ईभी नेपालको आवस्यकताको कारण तुलनात्मक रुपमा कम मूल्यमा उपभोग गर्न पाइरहेको अवस्था छ । सिट्रोन सीथ्री ४० लाखभन्दा कम मूल्यमा उपलब्ध हुने कार हो ।

अहिले नेपाली बजारमा उपलब्ध ईभी मध्ये बिक्री हुने अधिकांश मोडल ४० लाखदेखि ६५ लाख रुपैयाँ मूल्यका छन् । त्यसमा टाटा नेक्सन प्राइम मोडल लिडर हो । नेक्सन ईभीको बिक्री र सफलतापछि टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले टिगोर ईभी समेत नेपालमा बिक्री गर्दै आएको छ ।

साइजको हिसावले नेक्सन ईभी जत्रो भएपनि अन्य फिचरको आधारमा नेक्सनभन्दा कम र मूल्यको हिसावले पनि सस्तो मूल्यमा आउने भएसँगै सिट्रोन सीथ्रीले बजारमा राम्रो ब्यापार गर्ने चर्चा सुरु भएको छ । सीथ्री इलेक्ट्रीक क्रसओभर नेपाल आएसँगै ह्याचव्याक सेग्मेन्टमा उपलब्ध कारको बिक्रीमा ठूलो फरक पर्ने बताइन्छ ।

भारतमा अहिले टप भेरियन्ट १२ लाख ४३ हजार रुपैयाँमा बिक्री हुँदै आएको छ । भारतीय बजारमा पाइने मूल्यलाई आधार मान्दा यसको नेपालमा मूल्य ३० लाख हाराहारी मात्रै पर्ने देखिन्छ । यस्तोमा सिट्रोन सीथ्रीको बलियो ४ पक्षलाई यहाँ प्रस्तुत गरिएको छ । जुन अन्य प्रतिस्पर्धीलाई दह्रो टक्कर बन्न सक्छ ।

लगातार डिसी चार्ज गर्न सकिने

सिट्रोन सिथ्री मात्रै अहिले बजारमा उपलब्ध लगातार डिसी चार्जरबाट चार्ज गर्न मिल्ने गरी इन्जिनियरिङ भएको कार हो । यसरी लगातार डिसी चार्जरको प्रयोग गर्दा पनि यसको ब्याट्रीलाई कुनै खराबी गर्दैन । यसलाई ३० किलोवाट क्षमताको चार्जरले १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल ५७ मिनेट लाग्ने कम्पनीको दावी छ ।

ठूलो बुट स्पेश

विद्युतीय कारमा ब्याट्रीले धेरै स्थान ओगट्ने हुँदा बुट स्पेशमा समस्या पर्छ । वा भनौ बुट स्पेश सानो साइजमा उपलब्ध हुन्छ । सिट्रोन सीथ्री इलेक्ट्रीकमा निकै ठूलो बुट स्पेश पाउन सकिन्छ । यसमा ३१५ लिटर क्षमताको बुट स्पेश रहेको छ । जुन, कम्बस्चन इन्जिन भएको सीथ्रीकै बराबर हो ।

फराकिलो इन्टेरियर

अग्लो बडी डिजाइन र १८२९ एमएम चौडाई रहेको कारण यसको क्याविन निकै फराकिलो छ । यसको लम्बाई टाटा नेक्सनको बारबरकै ३९९६ एमएम छ । लबाई र चौडाईसँगै यसको उचाई पनि राम्रो पाउन सकिन्छ । यसको उचाई १५८६ एमएम छ । त्यहि कारण यसको हेडरुम पनि उत्कृष्ट पाउन सकिन्छ ।

सिट्रोन सीथ्रीको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ । उक्त ग्राउन्ड क्लियरेन्स सडक पर्फमेन्सको लागि राम्रै मानिन्छ । यसमा २५५० एमएमको लामो ह्वीलवेस पाउन सकिन्छ ।

राम्रो रेन्ज

सिट्रोनले सीथ्री क्रसओभरमा २९.२ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । भारतीय एआरएआईले ३२० किलोमिटर रेन्ज दावी गरेपनि सडकमा यसको बास्तविक रेन्ज २२० किलोमिटर हाराहारी आउने छ । जुन ब्याट्री र गाडीको साइज अनुसार उत्कृष्ट हो ।


Back_to_top