काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको सीथ्री इलेक्ट्रीक भर्सनमा चाँडै सार्वजनिक हुने भएको छ । विभिन्न सार्वजनिक भएको रिपोर्ट अनुसार सीथ्रीको इलेक्ट्रीक भर्सन यही वर्षको डिसेम्बरमा सार्वजनिक हुनेछ ।
भारतमा ५ लाख ६५ हजारदेखि ८ लाख ५ हजार भारतीय रुपैयाँ मूल्य तोकेर विक्री सुरु भएको सीथ्रीको इलेक्ट्रीक भर्सन पनि बजेट कार हुने अपेक्षा गरिएको छ । लगभग चार मिटर लामो यो क्रसओभरलाई एक पटकको फुल चार्जमा ३०० देखि ३५० किलोमिटर रेन्ज आउनेगरी ब्याट्री र मोटर दिने अनुमान गरिएको छ ।
सन् २०२३ को सुरुवातबाटै विक्री सुरु गर्ने अनुमान गरिएको सीथ्रीमा रहेका टेक्नीकल डिटेल अहिल्यै बाहिर आएको छैन । नयाँ ईभीमा एउटा मात्रै मोटर भएपनि ब्याट्री भने फरक साइजमा पाउन सकिन्छ । सम्भवत स्टायडर्ड भेरियन्टमा ३० र लङ रेन्जमा ४० किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध रहनेछ ।
भारतमा १३ लाख रुपैयाँ आसपासमा विक्री गर्नेगरी तयार हुँदै गरेको कारमा १०० किलोवाट हाराहारीको मोटर रहने छ । यसको मूल्य टाटा नेक्सन ईभीभन्दा सस्तो हुनेछ ।

