काठमाडौं । नेपाली नयाँ वर्ष २०८० को सुरुवातमा नै सिट्रोनले आफ्नो भारतमा बनेको ह्याचव्याक कार सीथ्री नेपाल आउने भएको छ । सिट्रोनको आधिकारीक विक्रेता साँग्रिला मोटर्सले बैशाखमा सीथ्री नेपाल ल्याउने भएको हो ।
कम्पनी स्रोतका अनुसार यही साता सीथ्री नेपालको लागि हिड्ने छ । त्यसपछि केही प्रविधिक काम सकेर आगामी बैशाख महिनाको मध्यसम्ममा सीथ्रीको विक्री सुरु हुनेछ ।
‘हामीले अप्रिलमा नै यसको विक्री सुरु गर्ने तयारी गरेका छौं । अर्डर ढिला जाँदा आयात खुलेपछि पनि केही समय लाग्यो । अब यही साता नेपालको लागि सीथ्री हिड्न लागेको छ’, साँग्रिला मोटर्स स्रोतले भन्यो ।
सुरुमा कम्बस्चन इन्जिन युक्त सीथ्री नेपाल आउने छ । त्यसको उक महिनापछि इलेक्ट्रीक सीथ्री आउने कम्पनीले जानकारी दिएको छ ।
सिट्रोनले आफ्नो सब फोर मिटर कारलाई १.२ लिटर नेचुरल्ली एस्पीरेडेड इन्जिन र १.२ लिटर टर्बो इन्जिनमा ल्याएको छ । कुन इन्जिनमा नेपाल आउने छ भन्ने विषयमा कुनै जानकारी दिइएको छैन ।
सिट्रोनले दिएको १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनले अधिकतम ८२ एचपी पावर र ११५ एनएम टर्क प्रदान गर्छ । त्यसैगरी १.२ लिटर टर्बो इन्जिनले ११० एचपी पावर र १९० एनएम टर्क प्रदान गर्नेछ । नेचुरल इन्जिनमा ५ स्पीड र टर्बो इन्जिनमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।
धेरै हदसम्म सिट्रोन सि फाइभबाट प्रेरित डिजाइन र फिचर यसमा पाउन सकिन्छ । स्प्लीट हेडल्याम्प क्लष्टर, हेग्जागोनल एयर इन्टेक, विभिन्न स्थानमा दिइएको कलर इन्सर्ट, कालो कलरमा बडी क्ल्याडिङ, विभिन्न ६ कलर अप्सन, भेरियन्ट अनुसार १५ इन्चको स्टील र अलोय ह्वील यसमा पाउन सकिन्छ ।
सिथ्रीको क्याविनमा १० इन्चको ठूलो इनफोटेन्टमेन्ट सिस्टम, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, म्यानुयल एसी, ४ वटा स्पीकर, यूएसबी चार्जिङ पोर्ट, दुई एयरब्याग, रिभर्स पार्किङ सेन्सर, सिट वेल्ट रिमाइन्डर जस्ता फिचर स्टायडर्ड रुपमा आउने छन् ।
प्रिमियम ह्याचव्याक सेग्मेन्टमा आउने सीथ्रीको मूल्य ३० लाखदेखि ४० लाख रुपैयाँसम्म रहने अनुमान गर्न सकिन्छ । यसको एकिन मूल्य थाहापाउन भने केही दिन कुर्नु पर्ने हुन्छ ।

