चीन जोड्ने मुख्य दुई व्यापारिक राजमार्ग दुई लेनमा विस्तार सुरू, ३ वर्षमा सक्ने

काठमाडौं । उत्तरी छिमेकी चीन जोड्ने प्रमुख दुई व्यापारिक राजमार्ग स्तरोन्नति सुरू भएको छ । रसुवागढी र तातोपानी नाका पुग्ने दुई सडकको कुल ४३ किलोमिटर सडकखण्ड दुई लेनमा विस्तार थालिएको हो ।

अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे-कोदारी २६.२१७ किलोमिटर सडक नेपाल सरकारको लगानीमा स्तरोन्नति भइरहेको हो । ११५ किमी लामो अरनिको राजमार्गको काठमाडौंदेखि बाह्रबिसेसम्म करिब ८५ किमी सडक यसअघि नै दुई लेनको छ । स्तरोन्नति गरी फरकिलो बनाउन लागिएको हो ।

त्यस्तै,गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक अन्तर्गत स्याफ्रुबेँसी-रसुवागढी १७ किलोमिटर चीन सरकारको अनुदानमा विस्तार सुरू भएको हो । काठमाडौंबाट चीन जोड्ने सबैभन्दा छोटो यो सकडको मैलुङसम्म दुईलेनमा विस्तार भइसकेको छ । मैलुङ-स्याफ्रुबेँसी २६ किमीको नयाँ ठेक्का लगाउने तयारी भइरहेको छ भने स्याफ्रुबेँसी-रसुवागढी चीनले बनाइदिन लागेको होे ।

हाल सिंगल लेनमा रहेका दुवै सडक दुई लेनमा स्तरोन्नति गर्न लागिएको हो । दुवै राजमार्गको ४३ किमी सडक करिब ८ अर्ब रुपैयाँ लागतमा दुई लेनको बनाउन लागिएको हो ।दुवै सडक गत वर्षायाममा आएको बाढीपहिरोले क्षतिग्रस्त बनाएको छ ।

यी सडक हुँदै चीनसँग वार्षिक डेढ खर्ब रुपैयाँ बढीको व्यापार हुँदै आएको छ । नेपालमा आयात हुने कुल विद्युतीय सवारी साधनमध्ये करिब ६० प्रतिशत यिनै सडकबाट ल्याइन्छ ।

बाह्रबिसे-कोदारीको १५ प्रतिशत काम सकियो

बाह्रबिसे-कोदारी सडक गत मंसिरदेखि काम थालिएको थियो । हाल यो सडकमा भित्तो कटान, ग्याबिन वाल लगाउने, प्वाम्टको काम भइरहेको सडक डिभिजन दोलखाका सूचना अधिकारी नेत्र विलाश पौडेलले जानकारी दिए । उनका अनुसार भौतिक प्रगति १५ प्रतिशत पुगेको छ ।

हाल बाह्रबिसेसँगै गत वर्षामा बाढीले सडक कटान गरेको लिपिङ, कोप्लाङ, घट्टेखोला लगायत स्थानमा काम भइरहेको छ । यी क्षेत्रमा धमाधम वाल लगाउन सुरू गरिएको उनले बताए ।

‘चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी पुग्ने अरनिको राजमार्गको बाह्रबिसे-कोदारी सडक साँघुरो छ । त्यसैलाई मध्येनजर गर्दै दुई लेनमा विस्तार थालिएको छ,’ उनले मेरोअटोसँग भने, ‘अहिले बाह्रबिसे, लिपिङ, कोप्लाङ, घट्टेखोला लगायत स्थानमा धमाधम पर्खाल लगाउने काम भइरहेको छ । भौतिक प्रगित १५ प्रतिशत पुगेको छ ।’

उनका अनुसार यो सडक दुई लेन (७ मिटर चौडामा) डीबीएम अस्फाल्ट कालोपत्र गरिने छ । भौगोलिक रूपमा कठिन (कडा चट्टानी पहाड रहेको )केही ठाउँमा भने इन्टर मिडियट (५.५ मिटर) मात्रै फराकिलो बनाइने उनले बताए ।

यो सडक स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले २ अर्ब ३७ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । यसको ठेक्का एमएस एनएस गाल्वा जेभीले १ अर्ब ३४ करोड रुपैयाँमा पाएको छ । २०८२ मंसिर १ गते ठेक्का सम्झौता भएको यो सडक ३ वर्ष (२०८५ कात्तिक मसान्तमा) सम्पन्न गर्नुपर्नेछ ।

स्याफ्रुबेँसी-रसुवागढीमा चिनियाँले थाले काम

स्याफ्रुबेँसी-रसुवागढी सडकमा चिनियाँ पक्षले निर्माण सामाग्री (ढुंगा, गिट्टी, वालुवा) संकलको काम गरिरहेका छन् । आगामी चैत १८ गतेदेखि सडक बन्द गरेर कामलाई तीव्रता दिने तयारी भइरहेको आयोजनामा इन्जिनियर कुमार पराजुलीले बताए ।

उनका अनुसार वर्षाअघि नै बाढिले कटान गरेका स्थानहरूमा पर्खाल लगाइसक्ने लक्ष्य राखिएको छ । त्यसका लागि आगामी ३ महिनामा कुल ४५ दिन (हरेक १५/१५ दिनमा) सडक बन्द गरेर कामलाई गति दिइने उनले बताए । साँघुरो सडकमा सवारी संचालन गर्दा काम गर्न अफ्ठेरो हुने भएकाले बन्द गरेर काम गर्न लागिएको हो ।

गत वर्षायाममा आएको बाढीले कटान गरेको उक्त सडक हाल २.५ देखि ३ मिटर चौडामा ट्रयाक खोलेर सवारी संचालन गरिएको छ ।

‘चिनियाँ पक्षले अनौपचारिक रूपमा हाल निर्माण सामग्री संकलन लगायत पूर्वकार्य गरिरहेका छन् । चैत १८ गतेदेखि औपचारिक रूपमा सडक विस्तारको काम थाल्दैछन्,’ उनले मेरोअटोसँग भने, ‘वर्षायाम अघि नै गत वर्ष बाढीले कटान गरेको ठाउँहरूमा पर्खाल लगाइसक्ने लक्ष्य राखिएको छ ।’

फाइल तस्बिर

यो सडक दुई लेन (८.५ मिटर फराकिलो) कालोपत्र गरिने छ । उक्त खण्डमा पर्ने पुलहरू यसअघि नै चीन सरकारले निर्माण सम्पन्न गरिसकेको छ ।

यो सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सिचाङ थियान्लुले साढे ६ अर्ब रुपैयाँमा पाएको छ । २०७६ असोजमा नेपाल र चीन सरकार बीच उक्त सडक निर्माण सम्बन्धी सम्झौता भएको थियो । चिनियाँ टोलि उक्त सडक विस्तारका लागि १ वर्ष अघि नै नेपाल आइसके पनि निकुन्जको जमिन प्रयोग गर्न र गिट्टी, बालुवा, ढुंगा निकाल्ने अनुमति नपाउँदा सडक विस्तारको काम सुरू गरेका थिएनन् ।

गत मंसिर १५ गतेको मन्त्रिपरिषद् बैठकले अस्थायी प्रयोजनका लागि लाङटाङ निकुन्ज क्षेत्रको २० हजार वर्गमिटर जमिन प्रयोग गर्न दिने र सडकको एलिजमेन्ट तथा नदी किनाराबाट उत्खनन गरिने ढुङ्गा, गिट्टी, बालुवामा लाग्ने दस्तुर छुट दिने निर्णय गरेसँगै चिनियाँ पक्षले सडक विस्तारको काम अघि बढाएको हो ।

नेपाल-चीन बीच भएको सम्झौता अनुसार उक्त सडक निर्माण थालिएको ३९ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो सडक निर्माण सम्पन्न भएपछि रसुवागढी-स्याफ्रुबेँसी सडकको यात्राअवधि करिब २० मिनेटमा छोटिने छ । अहिले १ घण्टा बढी लाग्दै आएको छ ।


Back_to_top