काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वय इकाई प्रमुख विनेश मुनकर्मी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक समेत रहेका मुनकर्मी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीविरुद्ध करिब २ करोड ५० लाख ३४ हजार रुपैयाँ रुपैयाँ विगो कायम गरी, सोही बराबर जरिवाना, कैद सजाय र स्रोत नखुलेको सम्पत्तिबाट बढेको रकम जफत गर्ने माग गरिएको छ।
उनले २०५४ फागुन १ गते सेवा प्रवेश गरेदेखि ३ करोड ७३ लाख ८१ हजार आम्दानी गरेको र ६ करोड २४ लाख १५ हजार रुपैयाँ खर्च गरेको अख्तियारले जनाएको छ । भ्रष्टाचार मुद्दा दायर भएसँगै मुनकर्मी निलम्बनमा परेका छन् ।
यसअघि अख्तियारले पोखरा विमानस्थलको ठेक्का सम्झौतासम्मको भ्रष्टाचारमा ५ पूर्वमन्त्री र ९ पूर्वसचिवसहित ५६ विरुद्ध मुद्दा दायर गरिसकेको छ ।

