काठमाडौं । कोभिड १९ को संक्रमण फैलन थालेसँगै साना र सस्ता कारको बिक्री बढ्ने अनुमान गरिएको थियो । तर, लकडाउन अन्त्यसँगै यस्ता कारको बिक्रीमा कुनै उत्साह देखिएको थिएन ।
चाडपर्वको समय सुरु भएसँगै साना कारमा ग्राहकको विशेष आकर्षण देखिएको छ । अहिले बजारमा बिक्री हुने साना कारको सेग्मेन्टमा हुन्डाई सेन्ट्रो, सुजुकी सेलेरियो र रेनो क्वीडले निकै राम्रो व्यापर गर्न सफल भएको छ ।
यी सबै कारको बिक्री १०० यूनिटभन्दा माथि रहेको छ । रेनोले क्वीडको फेसलिफ्ट मोडल बजारमा आएकोले यसको बिक्रीले १०० यूनिटभन्दा माथि पुगेको कम्पनी स्रोतले जानकारी दिएको छ ।

दशैंमा क्वीड फेसलिफ्ट १२० यूनिट भन्दा माथि बिक्री भएको कम्पनीको दाबी छ ।
यो सेग्मेन्टमा पुराना चल्तीका मोडल सुजुकी सेलेरियो र हुन्डाई सेन्ट्रोको बिक्री पनि १०० यूनिटभन्दा माथि रहेका छन् । दुबै कम्पनीले आ–आफ्नो मोडललाई १३० यूनिटभन्दा बढी बिक्री गरेको जनाएका छन् ।
यातायात कार्यालयले नयाँ गाडी दर्ताको आँकडा भने सार्वजनिक गरेको छैन । यस्तोमा दशैंमा साना गाडीको बिक्रीमा केहि उत्साह देखिएको बिक्रेता कम्पनीहरुले जनाएका छन् ।

साना गाडीमा यी ३ वटै कारको मूल्य लगभग समान रहेको छ । अहिले हुन्डाई सेन्ट्रो सेग्मेन्टकै सबैभन्दा सस्तो कारको रुपमा रहेको छ । यसको सुरुवाती मूल्य २३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
रेनो क्वीडको सुरुवाती मूल्य २४ लाख ९९ हजार र मारुती सुजुकी सेलेरियोको मूल्य २५ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

यहि सेग्मेन्टमा बिक्री हुने डाट्सन रेडी गोको फेसलिफ्ट मोडल पनि दशैं अगाडि नेपाल आएको भएपनि दशैंको बिक्रीमा यसले १०० यूनिटको आँकडा भेट्टाउन सकेन । यद्यपी रेडी गोको बिक्री पनि उत्साह जनक रहेको कम्पनी स्रोतले जानकारी दिएको छ ।

