भारतबाट लिटरमै १२ रुपैयाँ घटेर आयो पेट्रोलको भाउ, डिजेलमा कति ?

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई साउन १६ गते (अगस्ट १ तारिख) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो ।

आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल र पेट्रोलको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर १२.४५ रुपैयाँ र डिजेल प्रतिलिटर १६.८० रुपैयाँ घटेर आएको छ । हाल निगमले प्रतिलिटर पेट्रोलको १८१ रुपैयाँ, डिजेल र मटितेल १७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १९० रुपैयाँमा बेच्दै आएको छ ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ नाफा र डिजेलमा करिब १० रुपैयाँ घाटा हुने निगमले जनाएको छ । आइओसीले पेट्रोलियम पद्धार्थको मूल्य घटनएर पठाएको यो लगातार दोस्रो पटक हो । यसअघि पेट्रोल प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेल प्रतिलिटर १६.५६ रुपैयाँ घटेर आएको थियो ।

भारतबाट इन्धनको मूल्य घटेर आए पनि उपभोक्तालाई भने तत्काल सोअनुरुप लाभ नमिल्ने देखिन्छ । हाल निगमले घाटामा इन्धन बेचिरहेकाले भाउ घटेर आए पनि नघट्ने देखिन्छ ।


Back_to_top