काठमाडौं । चिनियाँ अटो उत्पादक कम्पनी दीपले आगामी ५ वर्षमा बजारमा ३० मोडल ल्याउने घोषणा गरेको छ । कम्पनीले चांगान अटोमोबाइल समूहको पुनर्संरचना गरेपछि मिडियासँग कुरा गर्दै उक्त घोषणा गरेको हो ।
कम्पनीका अनुसार आगामी ५ वर्ष भित्र अहिले भएका मोडल अपग्रेड र नयाँ गरी दीपल ब्राण्डमा ३० मोडल आउने छन् ।
मिडिया ब्रिफिङमा कम्पनीको नयाँ उत्पादन, प्रदर्शनी र व्यापार रणनीतिको विषयमा जानकारी दिइएको थियो । कम्पनीले विश्वकै सर्वाधिक इफिसियन्ट विद्युतीय कार बनाउने घोषणा पनि गरेको हो ।
दीपलका सीईओ डेङ चेङहाओका अनुसार कम्पनीले न्यू इनर्जी भेहिकलमा नयाँ टेक्नोलोजीको विकास र विस्तारसँगै नयाँ मोडलहरूको लामो लाइनअप तयार भइरहेको जानकारी दिए ।
उनका अनुसार दीपलले छिट्टै एल-०६ मोडल बजारमा ल्याउने छ । अहिले चीनमा यसको परीक्षण चलिरहेको तस्बिरहरू बाहिर आएका छन् । कम्पनीले एल-०६ सेडान कारमा थ्री एनएम अटोमोटीभ ग्रेड ककपिट, चीप र लाइडार प्रदान गर्नेछ ।
साथै, आगामी महिनाबाट चीनमा एस-०५ एसयूभीको लङ रेन्ज मोडल पनि बिक्री सुरू हुनेछ । दीपल एस-०५ केही दिन भित्रै नेपालमा पनि बिक्री सुरू हुन लागेको मोडल हो ।
कम्पनीले सन् २०२६ मा प्रतिघन्टा १२० किलोमिटरको स्पीडमा दुर्घटना भएको खण्डमा पनि आगलागी नहुने ब्याट्री ल्याउने सीईओ डेङ चेङहाओले जानकारी दिए ।

