काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा आजदेखि रातिमा सवारी संचालनमा रोक लगाइने भएको छ ।
सडक डिभिजन भक्तपुरले आजदेखि चैत २० गतेसम्म सवारी संचालनमा रोक लगाई उक्त सडकमा कालोपत्र गर्ने गर्ने कामलाई तीव्रता दिन लागेको हो ।
डिभिजनका अनुसार आजदेखि २० गतेसम्म टिपर लगायत मालवाहक सवारी चलाउन पूर्ण रोक लगाइएको छ । त्यस्तै, साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म निजी तथा सार्वजनिक सवारी संचालनमा रोक लगाइएको हो ।
धुलिखेल-खावा सडक आयोजनाका इन्जिनियर सिताराम बुढाथोकीले धुलिखेल खावा सडकको पहिलो चरणमा ४ किमीमध्ये २ किमी कालोपत्र गर्न लागिएको जानकारी दिए । उनले ठूला मालबाहक सवारी गुड्दा सिमेन्ट ट्रिटेड बेस (सीटीबी)को गुणस्तर खस्किने भएकाले रोक लगाई कामलाई तीव्रता दिन लागिएको बताए ।
‘पुरानो ठेक्का तोडी नयाँ ठेक्का लगाएपछि कामले गति लिएको छ । अहिले २ किमी कालोपत्र गर्ने चरणमा पुगेको छ । चैत ७ देखि २० सम्म गाडी चलाउन रोक लगाई कालोपत्र गर्न लागिएको हो । आजैदेखि सीटीबीको काम सुरु हुनेछ,’ उनले मेरोअटोसँग भने ।
बाँकी २ किमी दोस्रोचरणमा कालोपत्र गरिने उनले बताए । उक्त सडकमा करिब ५०० मिटर भित्तो कटान र नाला निर्माण गर्न बाँकी छ । १५०० मिटरमा भने कटान र नालाको काम सकिएको उनले बताए ।
समग्रमा यो सडकको भौतिक प्रगति ४७ प्रतिशत पुगेको इन्जिनियर बुढाथोकीले जानकारी दिए । पुरानो ठेकेदारले करिब १२ प्रतिशत काम गरेको थियो । गौरी पार्वतीले धुलिखेलदेखि पकुचासम्मको २ किलोमिटर सडकको कटिङ, नाली बनाउने, सब बेस, बेस राख्ने काम सकेको थियो ।
पुरानो ठेक्का तोडी नयाँ ठेक्कामार्फत अघि बढाइएपछि यो सडकको कामले गति लिन थालेको हो । मंसिरदेखि काम थालेको सीएनएवान काली जेभीले ४ महिनामै थप ३५ प्रतिशत काम गरेको उनले बताए । उसले बाँकी भित्तो कटान, नाला निर्माण, सबबेस लगायत काम गरिरहेको छ ।
उनले आगामी वैशाख भित्रै पूरै सडक कालोपत्र सक्ने लक्ष्य राखिएको बताए । कालोपत्रको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिन उनको भनाइ छ ।
इन्जिनियर बुढाथोकीका अनुसार धुलिखेल-खावा सडक जमिनको सहतदेखि ५५ सेन्टिमिटर बाक्लो हुनेछ । जसमा २० सेमि सबबेस,
१५ सेमि सीटीबी, १० सेमि ‘वेट मिक्स’, ६ सेििम डीबीएम (डेन्से बिटुमिनस म्याकाडम) र ४ सेमि बाक्लो अस्फाल्ट कालोपत्र गरिने उनले बताए ।
सुरूमा २२ महिनाभित्र सडकको काम सक्ने गरी गौरी(पार्वती निर्माण सेवासँग २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । कम्पनीले २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा ठेक्का पाएको थियो । सम्झौता अनुसार २०८० चैत १९ गतेभित्र काम सक्नुपर्नेमा पूरा नगरेपछि डिभिजनले गत २०८१ फागुन १५ गते ठेक्का सम्झौता तोडेको थियो ।
त्यसपछि सडक डिभिजन भक्तपुर मंसिरमा नयाँ ठेक्का लगाएको थियो । सीएनएवान काली जेभीले भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का पाएको छ । सम्झौता अनुसार १४ महिनामा २०८३ पुससम्मका काम सम्पन्न गरिसक्नुपर्नेछ ।
यो नेपालको चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसहित सन्धुपाल्चोक, दोलखा, रामेछाप लगायत जिल्ला जाने मुख्य सडक हो । यो सडक राजमार्ग समयमै नबन्दा यात्रु तथा स्थानीले ४ वर्षदेखि सास्ती खेप्दै आएका छन् । पानी पर्दा हिालाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको छ । जसले ट्राफिक जाम बढाउनुका साथै दुर्घटनाको जोखिम ससमेत बढाएको छ ।

