काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्ड स्तरोन्नतिका लागि पुनः ठेक्का लगाइएको छ । ४ वर्षदेखि अलपत्र अवस्थामा रहेको ४ किमी लामो उक्त सडक निर्माणका लागि पुनः ठेक्का लगाइएको हो ।
डिभिजन सडक कार्यालय भक्तपुरले हालै नयाँ निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको हो । भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए ।
उनका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी पुनः ठेक्का आह्वान गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको हो । पहिलो चरणमा आगामी चैतसम्ममा फराकिलो स्थानमा कालोपत्र सक्ने र बाँकी अन्य काम क्रमशः गर्दै निर्धारित समयमा सकिने उनले बताए ।
यसअघि २२ महिनाभित्र धुलिखेल खावा सडकको काम सक्ने गरी गौरी-पार्वती निर्माण सेवासँग २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । कम्पनीले २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा ठेक्का पाएको थियो । सम्झौता अनुसार २०८० चैत १९ गतेभित्र काम सक्नुपर्नेमा पूरा नगरेपछि डिभिजनले गत २०८१ फागुन १५ गते ठेक्का सम्झौता तोडेको थियो ।
डिभिजनले ठेक्का तोडेपछि निर्माण कम्पनी गौरी पार्वतीले फागुन १९ गते उच्च अदालत पाटनमा उत्प्रेषण मुद्दा दायर गरेको थियो । ठेकेदारले परर्फमेन्स बण्ड (पीबी) र एड्भान्स पेमेन्ट ग्यारेन्टी (एपीजी)० तान्नका लागि बैंकहरूलाई पत्राचार गर्ने, कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने निर्णयको विरुद्धमा मुद्दा दायर गरेको थियो । २०८२ असार २५ गते उच्च अदालत पाटनले निर्माण कम्पनी गौरी पार्वती जेभीले दायर गरेको उत्प्रेषणा खारेज गरिदिएको थियो । डिभिजनले साउन १ गते नयाँ ठेक्का आह्वान गरेको थियो ।
गौरी पार्वतीले धुलिखेलदेखि पकुचासम्मको २ किलोमिटर सडकको कटिङ, नाली बनाउने, सब बेस, बेस राख्ने काम सकिेको थियो । तर, कालोपत्र नगर्दा वर्षायामको पानीले बगाएर क्षति पुर्याएको छ । धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन-वाल लगाउने काम मात्रै भएको छ । जिपलाइन स्थानदेखि तल खावासम्मको भागमा कटिङ नै बाँकी रहेको छ ।
गत फागुनदेखि यस सडकको काम ठप्पप्रायः थियो । यसैबीच स्रोत सुनिश्चित भई पनि नयाँ ठेक्कामा गएपछि सडक डिभिजनले सवारी साधन र यात्रुलाई सहज बनाउन खाल्डाखुल्डी पुर्ने काम गरेको थियो ।
मंसिरभित्रै काम थाल्ने
ठेक्का सम्झौता भएसँगै यस सडकको काम यही मंसिर भित्रै सुरू हुने डिभिजन प्रमुखले बताए । ‘अब नयाँ ठेक्काको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यही मङ्सिरदेखि निर्माणको काम सुरू हुन्छ,’ उनले भने ।
धुलिखेल-खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो । उक्त सडकमा गुड्ने मालवहाक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डीबीएम र आस्फाल कालोपत्र गरिने छ ।

