काठमाडौं । नेपाली बजारमा दुई प्रिमियम इलेक्ट्रीक ह्याचव्याक कार आउने भएको छ । दुई चर्चित ब्राण्ड एमजी (मोरिस ग्यारेज) र बीवाइडी (ब्यूल्ड योर ड्रिम) ब्राण्डले प्रिमियम ह्याचव्याक कार नेपाल ल्याउने भएका हुन् ।
बीवाइडी र एमजी अहिले पनि नेपालमा चल्तीका इलेक्ट्रीक कार विक्रेता हुन् । एमजीले अहिले जेडएस ईभी र बीवाइडीले इ सिक्स, एटो थ्री र एम थ्री मोडल विक्री गर्दै आएका छन् । बीवाइडी न्यू इनर्जी भेहिकल मात्रै उत्पादन र विक्री गर्ने ब्राण्ड हो । एमजीले भने कम्बस्चन र न्यू इनर्जी दुबै किसिमका भेहिकल उत्पादन गर्दै आएको छ ।
एमजीले एमजी फोर ह्याचव्याक नेपाल ल्याउँदै छ भने बीवाइडीले डल्फीन ईभी नेपाल ल्याउने प्रक्रिया सुरु गरिसकेको छ । यी दुबै ब्राण्डले अबको तीन महिना भित्रै आफ्नो नयाँ मोडल बजारमा ल्याउनेगरी तयारी सुरु भएको जनाएका छन् ।
नेपालमा विद्युतीय साधनको माग बढ्दै जाँदा विभिन्न कम्पनीले सिटीको लागि उपयोगी ह्याचव्याकदेखि प्रिमियम ह्याचव्याकसम्म बजारमा ल्याउन थालेका छन् । यस्तोमा पारामाउन्ट मोटर्सले ल्याउने एमजी फोर र साइमेक्स इंकले ल्याउने बीवाइडी डल्फीन दुबै प्रिमियम ह्याचव्याक हुन् ।
एमजी फोर
एमजी फोर अन्तर्राष्ट्रिय बजारमा दुई ब्याट्री अप्सन र तीन मोटर अप्सनमा विक्री सुरु भएको छ । नेपालमा मोटरसाइज अनुसार कर लाग्ने भएकोले १०० किलोवाटभन्दा कम क्षमताको मोटरमा आउने अनुमान गर्न सकिन्छ । कम्पनीले जेडएस ईभी पनि ९९ किलोवाटको मोटरमा नेपाल ल्याएको छ । तर, एमजी फोर बाहिर भने १२५ किलोवाट, १५० किलोवाट र ३१५ किलोवाटको मोटरमा उपलब्ध रहेको छ ।

कम्पनीले यसमा ५१ र ६४ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । सानो ब्याट्रीले सिंगल चार्जमा ३५० किलोमिटर र ठूलो ब्याट्री भएको लङ रेन्ज मोडलले ५२० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।
एमजी फोर कम्पनीको नयाँ ‘एड्भान्स मोडुलर स्केवल प्लेटफर्म (एमएसपी) आर्किटेक्चर’मा तयार भएको हो । एमजीले यसको लागि निकै पातलो साइजको ब्याट्री प्रयोग गरेको जनाएको छ । यसमा रहेको ब्याट्रीको हाइट ४.३ इन्च मात्रै रहेको छ । यसको मूल्य ४० देखि ४५ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।
बीवाइडी डल्फीन
बीवाइडीको प्रिमियम ह्याचब्याक डल्फीन मोर्डन डिजाइन, उत्कृष्ट रेन्ज र आकर्षक मूल्यको कारण विश्व बजारमा चर्चामा रहेको मोडल हो ।
बीवाइडीको ३.० प्लेटफर्म र एलएफपी ब्लेड ब्याट्री डल्फीनको बलियो पक्ष हो । बजारमा उपलब्ध फोर मिटर एसयूभीको साइजमा उपलब्ध हुने डल्फीनको ४०७० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ । यसमा निकै लामो २७०० एमएमको ह्वीलवेस पाउन सकिन्छ । डल्फीनमा १६ र १७ इन्चको अलोय ह्वील दिइएको छ ।

डल्फीनमा फ्ल्याटवटम मल्टी फङ्गशनल स्टेरिङ ह्वील, एटो थ्रीमा रहेको ५ इन्च फुल एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १२.८ इन्चको फ्लोटीङ सेन्ट्रल कन्ट्रोल स्कृन, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने सिट, पछाडि पनि आमरेष्ट रहेको छ ।
सुरक्षाको लागि अब्बल बनाउन फ्रन्ट पार्किङ राडार, सिट बेल्ट वार्निङ लाइट, टायर प्रेसर मोनिटर जस्ता आधुनिक फिचर पाउन सकिन्छ । कम्पनीले यसमा इनर्जी सेभिङ, स्नो, स्पोर्टस् र कम्फर्ट मोड दिइएको छ ।
निकै आकर्षक र लग्जरी फिचरले भरिपूर्ण डल्फीन ह्याचव्याकमा फ्रन्ट ह्वीलमा पर्मानेन्ट म्याग्नेट सिंक्रोनास मोटर दिएको छ । कम्पनीले यसमा दुई मोटर अप्सन दिएको छ । एउटा ७० किलोवाट पावर र १८० एनएम टर्क प्रदान गर्न सक्षम छ भने अर्को १३० किलोवाट पावर र २९० एनएम टर्क प्रदान गर्न सक्षम छ ।
सून्यदेखि १०० किलोमिटरको स्पीड १०.९ सेकेन्डमा भेट्टाउन सक्ने यो कारमा ४४.९ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा ४२० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ ।
यसको मूल्यपनि ४० लाखदेखि ४५ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

