काठमाडौं । नेपालमा मिडसाइज इन्जिन युक्त मोटरसाइकलको बिक्री बढ्दो क्रममा रहेको छ । विशेषगरि २५० सीसी सेग्मेन्टमा एकपछि अर्को मोटरसाइकल नेपाल आइरहेका छन् । यस्तोमा यामाहा र बजाजले यो सेग्मेन्टमा नयाँ मोडल ल्याउने भएका हुन् ।
बजाजले पहिलो पटक २५० सीसी सेग्मेन्टमा डोमिनार भारतमा बिक्री सुरु गरेको छ भने, यामाहाले आफ्नो एफजेडएस सिरिजमा नयाँ मोटरसाइकल उत्पादन सुरु गरेको हो । यामाहा एफजेडएस २५ लकडाउन सकिएपछि भारतमा सार्वजनिक हुने छ ।
नेपालमा पनि यी दुई मोटरसाइकल बीच कडा प्रतिस्पर्धा हुने पक्का जस्तै रहेको छ । पावर, पफर्ममेन्स र स्टाइलमा यी दुई मोडल बीच कडा प्रतिस्पर्धा हुने छ । संभवत यी दुबै मोडल दशैं अगाडि नै नेपालमा बिक्री सुरु हुने छ ।
बजाज डोमिनार २५०
भारतमा बिक्री सुरु भइसकेको डोमिनार २५० नेपाल ल्याउने तयारी सुरु भइसकेको थियो । तर, कोरोना भाइरसको कारण तत्काल नेपाल आउन नसकेको यो मोटरसाइकलले २५० सीसी सेग्मेन्टमा उत्कृष्ट व्यापार गर्ने अनुमान गरिएको छ ।
यसमा दिइएका अधिकांश फिचर डोमिनार ४०० बाट लिइएकोले पनि यसले राम्रो व्यापार गर्ने अनुमान गर्न सकिन्छ ।

बजाज डोमिनार २५० मा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर यसको सबल पक्ष हो ।
त्यसैगरि अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर यसमा पाउन सकिने छ । स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर समेत उपलब्ध रहेका छन् ।
ड्यूक २५० बाट लिइएको २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन यसमा रहेको छ । उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा ३० पीएस पावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहने छ ।
डोमिनार २५० को मूल्य नेपालमा ४ लाख ४० हजार रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।
यामाहा एफजेडएस २५
यामाहाले एफजेडएस २५ बजारमा ल्याउने भएको छ । कम्पनीले यो मोटरसाइकल नयाँ मोडलको रुपमा बजारमा ल्याउने भएको हो ।
यसअघि २५० सीसी सेग्मेन्टमा एफजेड २५ र फेजर २५ मोडल बिक्री वितरण गर्दै आएको यामाहाले फेजर २५ को उत्पादन बन्द गर्दै एफजेडएस २५ बजारमा ल्याउने भएको हो ।

निकै स्पोर्टी डिजाइनमा आउन लागेको एफजेडएसमा एलइडी डिआरएल, विंड स्कृन, मस्कुलर फ्यूल ट्याङक, स्प्लिट सिट, प्रोजेक्टर हेडल्याम्प जस्ता फिचर उपलब्ध रहेको छ ।
यस स्टाइलिस मोटरसाइकलमा २४९ सीसी सिंगल सिलिण्डर एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकम २०.५ बीएच पावर र २० एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले यसमा ५ स्पीड गियरबक्स दिएको छ । साथै सुरक्षाको लागि दुबै चक्कामा डिस्क ब्रेकको साथ डबल च्यानल एबीएस दिएको छ ।
यसको मूल्य नेपाली बजारमा ४ लाख ४० हजार रुपैयाँ हाराहारीमा आउने अनुमान गर्न सकिन्छ ।

