ट्रम्प प्रशासनका कारण टोयोटाका केही मोडल बन्द हुन सक्ने

अमेरिका सवारी उत्पादकहरुका लागि महत्वपूर्ण बजार हो । अमेरिकामा वर्षेनी लाखौं कार बिक्री हुन्छ । त्यसैले ठूला सवारी उत्पादक कम्पनीहरु जस्तै टोयोटा, जनरल मोटर्स, फक्सवागेनलगायतले अमेरिकालाई नै भनेर विशेष मोडलसमेत उत्पादन गर्दै आएका छन् । यसले उनीहरुको बजार हिस्सा बढाउन मद्दत पुग्छ । 

तर ट्रम्प प्रशासनले आयातित कारमा लाग्दै आएको कर वृद्धि गरेपछि कार कम्पनीहरुको बजार प्रभावित हुने देखिएको छ । टोयोटा अमेरिकामा निक्कै चर्चित ब्रान्ड मध्येमा पर्छ । टोयोटा अमेरिकामा धेरै मोडलका कार उत्पादन गर्ने मध्ये एक अग्रणी कम्पनी हाे ।  

उक्त जापानी कार निर्माता कम्पनी टोयोटाले अमेरिकी बजारका लागि अहिले पनि धेरै मोडल बाहीरि बजारबाट समेत आयात गर्दै आएको छ । टोयोटाले गत वर्ष अमेरिकामा २४ लाख सवारी बिक्री गरेको थियो । त्यस मध्ये आधाभन्दा धेरै आयात गरि बिक्री गरिएको थियो । हाल टोयोटा अमेरिकामा आफ्नो एघारौं प्लान्ट स्थापना गर्ने तयारीमा रहेको छ । 

अमेरिकामा आयात हुने कारमा भएको कर वृद्धिले के प्रभाव पार्छ त्यस पछि सबै मोडललाई निरन्तरता दिने वा नदिने भन्ने निक्र्यौल हुने टोयोटा नर्थ अमेरिकाका प्रमुख कार्यकारी जिम लेन्जको भनाइ छ । अमेरिकामा टोयोटाको सबैभन्दा चर्चित मोडल हो र्याभ फोर जुन क्यानडा र चीनबाट आयात हुँदै आएको छ ।

त्यस्तै टोयोटाको लक्जरी ब्रान्ड लेक्ससका कार अमेरिकी बजारका लागि क्यानडाबाट ९५ प्रतिशतभन्दा धेरै आयात गर्दै आएको छ । अमेरिकाको तुलनामा अन्य बजारमा कार उत्पादन गर्दा लागत कम हुने भएको त्यसको फाइदा उपभोक्तालाई समेत पुगेको छ । यसले टोयोटालाई प्रतिस्पर्धी बजारमा फाइदा पुर्याएको थियाे । 

अमेरिकाले क्यानडा र मेक्सिकोसंग गरेको फ्रि ट्रेड एग्रिमेन्टलाई ट्रम्प प्रशासनले संसोधन गर्दै क्यानडा र मेक्सिको संगै बेग्लै सम्झौताको तयारी गरेको छ । यसले टोयोटाका साथै अन्य उत्पादकहरुलाई समेत प्रभावित पार्न सक्छ ।

अमेरिकी कर वृद्धि योजनाले धेरै तिरको बजारमा प्रभावित बनाउने देखिन्छ । भारतले पनि अमेरिकी ब्रान्डेड उत्पादनमा कर लगाउने योजना बनाइ रहेको छ । टोयोटाले भने अगामी महिना उक्त निर्णयबारे पुनर्बिचार गर्ने जनाएकाे छ ।


Back_to_top