लग्जरी कार निर्माता कम्पनी अडीले आफ्नो पहिलो लग्जरी इलेक्ट्रीक कार ई–ट्रोन सार्वजनिक गरेको छ । यसलाई कम्पनीले बेलायती बजारबाट बिक्री सुरु गरेको हो । कम्पनीले उत्पादन गरेको पहिलो इलेक्ट्रीक एसयूभीको मूल्य ७१ हजार ४९० पाउन्ड तोकिएको छ ।
अडीले उत्पादन गरेको यो एसयूभीमा ५ जनाले सहज यात्रा गर्न सक्ने छन् । कम्पनीले सन् २०२५ सम्ममा बजारमा ल्याउने घोषणा गरेको ११ इलेक्ट्रीक गाडी मध्ये यो पहिलो हो ।
यसमा कम्पनीले ९५ किलोवाटको पावरफुल व्याट्री दिएको छ । दुई वटा इलेक्ट्रीक मोटर दिइएको यो एसयूभीले ४०० बीएपची पावर जेनेरेट गर्छ ।
कम्पनीको क्यू–५ र क्यू–८ बाट प्रभावित ई–ट्रोनमा क्यू–३ को जस्तो हेडलाईट प्रयोग गरिएको छ । यसलाई कम्पनीले क्यू सिरिज नै मानेको छ । कम्पनीले आफ्नो नयाँ इलेक्ट्रीक कारमा साईड मिरर (ओआरभीएम) दिएको छैन । मिररको सट्टामा क्यामेरा दिइएको छ ।
एक पटकको फुलचार्जमा यो एसयूभीमा ४०० किलोमिटरको यात्रा गर्न सकिने कम्पनीले दाबी गरेको छ । विश्व बजारमा यसको प्रतिस्पर्धा टेस्ला मोडल एक्स, ज्यागुवार आईपेश र मर्सिडिज बेन्ज इक्यूसीसँग हुनेछ ।


