नेकपाको चुनावी घोषणापत्र : सुरुङदेखि मेट्रोरेलसम्म

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

नेकपाले सुशासन, रोजगारी, विकास पूर्वाधारलाई समेट्दै निर्वाचन प्रतिबद्धतापत्र ल्याएको हो ।

नेकपाको घोषणापत्रमा देशका विभिन्न राजमार्ग चारलेनमा स्तरोन्नति गर्ने, सुरुङमार्ग, मेट्रोरेल/मोनोरेल, विमानस्थल लगायत पूर्वाधार निर्माण गर्ने, ठूला नदीमा पानीजहाज संचालन गर्ने जस्ता महत्वकांक्षी योजना अघि सारेको छ ।

नेकपाले पूर्वपश्चिम राजमार्ग, मध्य पहाडी लोकमार्ग, हुलाकीमार्ग, काठमाडौं निजगढ द्रुतमार्ग, उत्तर दक्षिण लोकमार्ग (कोशी, त्रिशूली, कालीगण्डकी, कर्णाली र महाकाली कोरिडोर), गड्डाचौकी-चिसापानी सडकखण्ड चार लेनको निर्माण गर्ने घोषणा गरेको छ । मुलुकका विभिन्न भागमा द्रुतमार्ग, लोकमार्ग र सुरुङमार्गको निर्माण कार्य अगाडि बढाइने उल्लेख छ ।

त्यसैगरी, देशका सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुर्याइने, काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ र देशका मुख्य सहरहरूमा चक्रपथ  निर्माणलाई तीव्रता दिने घोषणा गरेको छ ।

नेकपाले देशका विभिन्न स्थानमा रेलमार्ग बनाउने घोषणा गरेको छ । केरुङ-काठमाडौं, काठमाडौं-पोखरा, काठमाडौं-लुम्बिनी रेलमार्ग, पूर्व-पश्चिम रेलमार्ग, काठमाडौंमा मेट्रोरेल तथा मोनोरेल निर्माण प्रक्रिया अघि बढाइने उल्लेख छ ।  देशका प्रमुख सहरहरूमा मास ट्रान्जिट सिस्टम कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ ।

त्यस्तै, ५ वर्ष भित्र बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने, हाल प्रयोगमा नरहेका देशका विभिन्न विमानस्तल स्तरोन्नति गरी प्रयोगमा ल्याउने, प्रयोगमा आउन नसके अन्य प्रयोजनमा उपयोग गर्ने उल्लेख गरेको छ ।  देशका ठूला नदीहरूमा जल यातायातका पूर्वाधार निर्माण गरी संचालनमा ल्याउने योजना अघि सारेको छ।


Back_to_top