काठमाडौं । आगामी असोज १ गतेदेखि देशका सातथै प्रदेशमा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने भएको छ ।
मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा साबै प्रदेशका मन्त्री तथा सचिव सहभागी विषयगत समिति बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले २०८२ असोज १ गते देखि सातै प्रदेशका यातायात व्यवस्था कार्यालयहरूबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो ।
इम्बोस्ड नम्बर प्लेट जडानका लागि यातायात व्यवस्था विभागले प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । इम्बोस्ड नम्बर प्लेट जडानको प्रभावकारी नियमन गर्न गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी समेत परिचालन गरिने बैठकले निर्णय गरेको छ ।
यातायात व्यवस्था विभागले २०७३ देखि इम्बोस्ड जडान सुरू गरेको थियो । विभागले २०८० मंसिरसम्म पहिलो चरणमा देशभरका २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने लक्ष्य राखेको थियो । तर, प्रदेशहरुले प्रभावकारी कार्यान्वयन नगर्दा इम्बोस्ड जडानले गति लिन सकेको छैन । हालसम्म करिब ७५ हजार सवारी साधनमा मात्रै इम्बोस्ड जडान भएको छ ।
यसैगरी, बैठकले सुरक्षण केन्द्रलाई आगामी भदौ मसान्त भित्रै यथाशिघ्र लाइसेन्स छपाइ सुरु गर्न अनुरोध गर्ने निर्णय गरेको छ । सुरक्षण मुद्रण सम्बन्धी ऐन, २०८१ को दफा ९ अनुसार सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्र छपाइको लागि २०८२ जेठ ९ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सो अनुसार मुद्रण केन्द्रले २०८२ असार मसान्त सम्ममा प्रथम चरणको सवारी चालक अनुमतिपत्र उत्पादन सुरू गर्ने भनिएको थियो । तर, अझै सुरु हुन सकेको छैन ।
त्यस्तै, बैठकले सवारी चालक अनुमतिपत्र छपाइका लागि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशले आवश्यक खरिद प्रक्रिया अगाडि बढाइसकेको सन्दर्भमा सवारी चालक अनुमतिपत्र छपाइको कार्य अविलम्ब सुचारू गर्न सुरक्षण मुद्रण केन्द्रले अनुमति दिन अनुरोध गर्ने पनि निर्णय भएको छ ।
बैठकले १० वर्ष अवधिको सवारी चालक अनुमति पत्र वितरणका लागि राजश्वमा एकरूपता कायम गर्ने, तथ्यांकहरूलाई डिजिटलाइज गर्ने, भुक्तानी प्रक्रियालाई विद्युतीय माध्यममा लैजाने, सफ्टवेयर प्रणालीलाई चुस्त र व्यवस्थित पार्ने, बेरुजू फस्र्यौटलाई प्रभावकारी बनाउने, राइड सेयरीङबारे एकरूपता कायम गरि लागू गर्ने लगायतका निर्णय पनि गरेको छ ।

