चालु वर्षमा कोरला नाकाबाटै भित्रिए ३७ प्रतिशत ईभी, साढे १२ अर्बको व्यापार

काठमाडौं । मुस्ताङस्थित कोरलाबाट नाकाबाट चालु आर्थिक वर्षमा झण्डै साढे १२ अर्ब रुपैयाँ बराबरको व्यापार भएको छ ।

रसुवागढी र तातोपानी नाकाको विकल्पमा गत भदौदेखि संचालनमा आएको यस नाकाबाट चाुल वर्षमा कुल १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको सामान आयात/निर्यात भएको हो ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले कोराला नाका हुँदै चैत ८ गतेसम्म कुल १२ अर्ब १७ करोड ५० लाख रुपैयाँ बराबरको सामान आयात भएको जानकारी दिए । त्यस्तै, २० करोड ३० लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।

चालु आवमा कार्यालयले ५ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गरेको उनले बताए । गत दशैं तिहारमा व्यस्त रहेको भन्सार कार्यालय हाल सुनसान बनेको उनले बताए ।

पुसदेखि रसुवागढी नाका खुलेसँगै कोरलाबाट सामान आयात निर्यात ठप्प रहेको उनले बताए । ‘रसुवागढी र तातोपानी नाका बन्द हुँदा दशैंतिहारको बेला कोरला नाका निकै व्यस्त भएको थियो । जनवरीदेखि सुनसान छ । रसुवागढी खुलेसँगै सबै सामान उतैबाट आउन थालेको छ,’ उनले मेरोअटोसँग भने, ‘हाल भन्सार कार्यालय खुला छ । तर, सामान आयात निर्यात भने भएको छैन ।’

चालु आवमा कोरलाबाट कुल २ हजार ३४७ युनिट विद्युतीय सवारी आयात भएको उनले जानकारी दिए । यो चालु आवमा आयात भएको कुल ईभीमध्ये ३६.६८ प्रतितश हो । चालु आवको फागुन मसान्तसम्म कुल ६ हजार ३९८ युनिट ईभी आयात भएको छ ।

जनवरी यता भने ईभी आयात पनि ठप्प रहेको उनले बताए । कोरला नाका नियमित नभई विकल्पको रूपमा मात्रै संचालन हुने देखिएको उनको भनाइ छ ।


Back_to_top