‘विद्युतीय कार किन्ने बढे, सप्लाई छैन’, अहिले बुकिङ गर्नेले दशैंमा गाडी नपाउने

काठमाडौं । विद्युतीय कार प्रयोगकर्ता बढेसँगै विक्रेताले गाडी दिनै नसक्ने अवस्था सृजना भएको छ । विद्युतीय कार प्रति आममानिसको चासो बढी रहेको समयमा गाडीको आयातमा समस्या देखिएपछि दशैंमा गाडी किन्न पैसा बोकेर बसेका मानिसले पनि कार नपाउने भएका छन् ।

अहिले विद्युतीय कार विक्री गर्ने विक्रेतासँग गाडी छैन तर, बुकिङ भने राम्रो संख्यामा रहेको पाइन्छ । नेपालमा सर्वाधिक सफल एमजी इजेडएस अहिले बुकिङ गर्ने मानिसले तिहारसम्ममा गाडी पाउन सक्ने कम्पनीले जनाएको छ ।

‘दशैंअघि गाडी आउँदैछ । तर, पहिल्यै बुकिङ गरेर बसेका ग्राहकलाई दिनु पर्नेछ । अहिले बुकिङ गर्ने ग्राहकलाई सकभर तिहारसम्ममा गाडी दिने प्रयास गरिरहेका छौं’, पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्यालले मेरोअटोसँग भने ।

अर्यालका अनुसार अहिले गाडी नपाउनुमा सप्लाईको भन्दा पनि ट्रान्सपोर्टमा देखिएको समस्या धेरै छ ।

कम्पनीको आउन लागेको सबै यूनिट गाडी पहिल्यै बुकिङ भएकाले अहिले बुकिङ गरेर दशैंमा गाडी पाउने अवस्था नरहेको कम्पनीले जनाएकाे छ ।

एमजीको भन्दा पनि बढी समस्या टाटा नेक्सनको सप्लाईमा देखिएको छ । टाटाले नेक्सन इभी सार्वजनिक गरेसँगै यसलाई किन्न चाहने ग्राहक बढी रहेका छन् । कम्पनी स्रोतका अनुसार नेक्सन इभीको बुकिङ भएका सबै गाडी ग्राहकलाई हस्तान्त्रण गर्न करिब ५ महिना लाग्ने छ ।

‘हामी बुकिङ लिइरहेका छौं । अहिले बुकिङ गर्ने ग्राहकले सन् २०२२ लागेपछि गाडी पाउने छन्’, सिप्रदी ट्रेडिङ स्रोतले भन्यो ।

अहिले हुन्डाई, विवाइडी र कियाका गाडी पनि ग्राहकले बुकिङ गरेर कुर्नु पर्ने अवस्था छ । हुन्डाईले कोना र आयोनिक इभी केही संख्यामा नियमित आयात गरिरहेको छ भने कियाको निरो इलेक्ट्रीक आउन सकिरहेको छैन ।

विवाइडीले पनि दशैंअघि नयाँ इ६ नेपाल ल्याउने जनाएको छ । कम्पनीको आउन लागेको सबै यूनिट गाडी पहिल्यै बुकिङ भएकाले अहिले बुकिङ गरेर दशैंमा गाडी पाउने अवस्था नरहेको कम्पनीले जनाएकाे छ ।

‘हामीसँग आपूर्तिभन्दा धेरै बुकिङ छ । पहिला बुकिङ गर्नेलाई पहिलो प्राथमिकताको आधारमा दशैंमा गाडी दिन्छौं’, साइमेक्स इङ्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन् ।

माथि, उल्लेखित बाहेक महिन्द्रा, दिगो र डेरी ब्राण्डले पनि विद्युतीय कार विक्री गर्दै आएका छन् । महिन्द्रासँग अहिले विद्युतीय कार छैन । दिगो र डेरीले भने गाडी विक्री गर्दै आएका छन् ।

विद्युतीय कारको मूल्य

अहिले नेपालमा उपलब्ध विद्युतीय कार १९ लाख ५० हजारदेखि ७१ लाख ९६ हजारसम्म मूल्य निर्धारण भएर विक्री हुँदै आएका छन् । सबैभन्दा कम मूल्यको इलेक्ट्री कार डेरी ब्राण्डको एम७ हो भने सबैभन्दा महंगो मूल्य १५० किलोवाट क्षमताको मोटर जडान भएको हुन्डाई कोना हो ।

डेरीसँग दुई मोडल, दिगोसँग एक, एमजीसँग एक, कियासँग एक, विवाइडीसँग तीन र हुन्डाईसँग तीन मोडल रहेका छन् ।


Back_to_top