काठमाडौं । नेपाली बजारमा बिक्रीको लागि उपलब्ध भएर पनि बिस्तारै सुस्ताउँदै गएका ब्राण्डको लामो लिस्ट बन्ने क्रम जारी छ । विगत दुई वर्षदेखि नेपाली बजारमा बिक्री हुँदै आएपनि संख्यात्मक रुपमा बिक्री नभएका ब्राण्डको बारेमा चासो हुनु स्वभाविक हो ।
नेपालमा बिक्री सुरु भएको छोटो समयमा नै संख्यात्मक बिक्री पाएपनि विगत एक वर्षदेखि संख्यात्मक आयात नभएको ब्राण्ड सेरेर भएको छ । सेरेसका ईभी सन् २०२४ मा निकै राम्रो संख्यामा बिक्री भएको थियो । तर, क्रमिक रुपमा बिक्री घट्दै जाँदा आयात भने ठप्प प्रायः भएको छ ।
सेरेसले सेरेस थ्री एसयूभी र सानो मिनी कार नेपालमा बिक्री गरेको थियो । अहिले पनि सेरेस थ्री भने बिक्रीको लागि उपलब्ध छ । एमएडब्लू वृद्धिले विगत १० महिनादेखि सेरेस ब्राण्डमा कुनै पनि ईभी आयात गरेको देखिँदैन ।
जिकरका उत्पादन बिक्री हुने सबै देशमा उपभोक्ताको रोजाइमा परेको ब्राण्ड भएपनि नेपालमा सोचे जस्तो ब्यापार गर्न सकेन । पायोनियर मोटोकर्पले नेपाल ल्याएको जिकर ब्राण्ड हाइ पर्फमेन्स क्रसओभर एसयूभी ‘जिकर एक्स’को बिक्री ठूलो परिमाणमा भएको छैन ।

सन् २०२४ बाट नेपाली बजारमा बिक्री सुरु भएको जिकर एक्स अहिलेसम्म केबल ७२ युनिट आयात भएको छ । सन् २०२४ मे महिनापछि विगत १० महिनामा जिकर एक्स पनि एक युनिट पनि आयात भएको देखिदैन ।
जी मोटर्स प्रालिले चिनियाँ ब्राण्ड स्काइवेल सन् २०२४ बाटै नेपालमा उपलब्ध गराएको ब्राण्ड हो । मूल्यका हिसावले एक करोड माथिको ईभी भएको कारण यसले पनि संख्यात्मक बिक्री पाउन सकेन । स्काइवेल इटी फाइभ मोडल केबल ३२ युनिट आयात भयो ।

इटी फाइभ महंगो भएको कारण कम्पनीले बीइ ११ मोडल ल्यायो । यसको मूल्य भने इटी फाइभभन्दा सस्तो भएको कारण संख्यात्मक आयात बढ्यो । बीइ ११ भने अहिलेसम्म ८९ युनिट आयात भएको छ । तर, पछिल्लो १० महिनामा एक युनिट पनि स्काइवेलका एसयूभी आयात भएको देखिँदैन ।
सन् २०२४ बाटै नेपालमा बिक्री हुँदै आएको एक्सपेङ चिनियाँ स्टार्टअप कम्पनी हो । निकै प्रिमियम क्रसओभर मोडलको रुपमा सिजी मोटर्सले ल्याएको एक्सपेङ जी सिक्स अहिलेसम्म १३९ युनिट आयात भएको देखिन्छ ।

कम्पनीले सन् २०२४ मा ५३ युनिट, २०२५ मा ८५ युनिट र २०२६ फेब्रुअरी मध्यसम्म १ युनिट गरी १३९ युनिट आयात गरेको हो । प्रिमियम सेग्मेन्टमा उपलब्ध जी सिक्सको संख्यात्मक आयात भने कमजोर नै मान्नुपर्छ । तर, केही युनिट मात्रै आयात भएपनि निरन्तरता भने देखिन्छ ।
चीनबाट आयात भएर बिक्री हुने अभतार सन् २०२४ मा पहिलो पटक नेपालमा आएको हो । एमएडब्लू ग्रुप र सीजी मोटर्स मिलेर नेपाल ल्याएको अभतार अहिलेसम्म ४४ युनिट मात्रै आयात भएको छ ।

सन् २०२४ मा एकै लटमा ४४ युनिट आयात भएको अबतार क्रसओभर एसयूभी त्यसपछि आयात नै भएको छैन । सुरुमै आएको अबतार–११ मोडलपछि अर्को मोडल पनि अहिलेसम्म आयात गरेको छैन ।
पेट्रोल/डिजेलमा राम्रो बिक्री पाइरहेको कियाको ईभी आयात पनि ठप्प प्रायः छ । कियाले सोल ईभी, निरो ईभी, ईभी सिक्स, ईभी फाइभ, ईभी नाइन जस्ता मोडल नेपाल ल्याएपनि संख्यात्मक आयात भने छैन ।

पछिल्लो दिनमा कन्टिनेन्टल ट्रेडिङले कियाको ईभी बिक्री गर्न सकिरहेको छैन । पछिल्लो एक वर्षमा केबल १२ युनिट कियाको ईभी आयात भएको देखिन्छ । यसले कियाको ईभीमा कमजोर उपस्थितिलाई देखाउँछ ।

