४ कार चोरेर नक्कली नम्बर प्लेट, चलाएर हिँड्दा प्रहरीको नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नक्कली नम्बर प्लेट राखी चलाइएका चारवटा चारपाँग्रे सवारीसाधन नियन्त्रणमा लिएको छ ।

मातहतका इकाइहरूको संयुक्त जाँचका क्रममा नियन्त्रणमा लिइएका ती सवारीसाधन ट्राफिक प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

विषेश सूचनाको आधारमा गरिएको सवारी जाँचका क्रममा आवश्यक कागजात नभएका तथा आफूखुसी नक्कली नम्बर प्लेट प्रयोग गरी कानुनविपरीत संचालन भइरहेका सवारीसाधन नियन्त्रणमा लिइएको हो ।

प्रहरीले चैत ५ गते सुनसरी भोक्राह नरसिंह-३ लौकहीबाट प्रदेश २-००२च ४०९८ नम्बरको सेतो रङको महिन्द्रा बोलेरो र झापाको भद्रपुर(९, चन्द्रगढीबाट भारतीय नम्बरको मारुती सुजुकी कार नियन्त्रणमा लिएको हो ।

त्यस्तै, चैत १० गते सुनसरी इटहरीचोकबाट प्र. १-०१-००१ च ९९१२ सेतो रङको टाटा पन्च र चैत २४ गते झापाको बिर्तामोड ५ बाट बा १३ च ७७६ नम्बरको डार्क ग्रे मेटालिक रङको हुण्डाई आइ २० नियन्त्रणमा लिएको हो ।

ती सवारीको आरसी बुकमा उल्लेखित इन्जिन र चेसिस नम्बर फरक रहेको पाइएपछि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय, कोशी ब्यारेज सुनसरीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

सुनसरी प्रहरीले यसअघि पनि नक्कली नम्बर प्लेटका एक दर्जन सवारीसाधन नियन्त्रण लिएर भन्सारमा बुझाएको थियो ।


Back_to_top