काठमाडौं । बजारमा सर्वाधिक मोटरसाइकल विक्री हुने सेग्मेन्ट १५० सीसी क्षमताको इन्जिन हो । यो सेग्मेन्टमा बजाज, हिरो, यामाहा, होन्डा, टीभीएस र सुजुकीले धेरै मोटरसाइकल विक्री गर्दै आएका छन् ।
यो सेग्मेन्टमा आफ्ना अधिकांश मोडल एफआई इन्जिनमा ल्याउने कम्पनी यामाहा हो भने बीएस ६ मापदण्डको इन्जिन र एफआईसहितको मोटरसाइकल ल्याउने कम्पनी हिरो हो । यसका अलावा सुजुकीले पनि एफआई इन्जिनमा मोटरसाइकल ल्याएको छ ।
तर, यो सेग्मेन्टमा सर्वाधिक मोटरसाइकल विक्री गर्ने बजाजले पल्सर १५० मा एफआई र बीएस ६ दुबै मापदण्डको मोटरसाइकल उपलब्ध गराएको छैन । होन्डा र टीभीएसले पनि अहिलेसम्म एफआई र बीएस ६ लाई महत्वका साथ लिएका छैन ।
१५० सीसी सेगमेन्टमा विक्री हुने यामाहा एफजेडएस भी थ्री, सुजुकी जिक्सर १५० भने एफआई इन्जिनको अप्सन उपलब्ध रहेको छ । यी मोटरसाइकलको मूल्य क्रमश ३ लाख २९ हजार ९०० र ३ लाख २८ हजार ९०० रुपैयाँ रहेको छ ।
हिरोले भने यो सेग्मेन्टमा पहिलो पटक बीएस ६ इन्जिनसहित एक्स्ट्रीम १६० आरलाई बजारमा ल्याएको छ । कम्पनीले नेपालमा विक्री सुरु गरेको एक्स्ट्रीम १६० आरमा एफआई इन्जिन उपलब्ध रहेको छ । यसको मूल्य भने ३ लाख ३९ हजार रुपैयाँ तोकेर विक्री सुरु भएको छ ।


