काठमाडौं । चिनियाँ कार ब्राण्ड चेरीले फुलविन ब्राण्डमा एक साथ दुई इलेक्ट्रीक अफरोड एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले फुलविन एक्सथ्री र एक्सथ्री प्लस मोडल सार्वजनिक गरेको हो ।
कम्पनीले यी दुई एसयूभीको मूल्य पनि चीनमा एकदमै कम कायम गरेको छ । फुलविन एक्सथ्रीको मूल्य १२ हजार ५०० देखि १५ हजार ३०० अमेरिकी डलरसम्म तोकिएको छ । जबकी एक्सथ्री प्लस मोडलको मूल्य १५ हजार ३०० देखि १९ हजार ५०० अमेरिकी डलरसम्म तोकिएको हो ।
साथै, चेरीले फुलविन एक्सथ्रीएल मोडल पनि ल्याएको छ । यो भने हाइब्रिड मोडल हो । चेरीकै आइकार ब्राण्डमा बनेको यो मोडल फुलविन ब्राण्डमा पनि आएको हो ।
हेर्दा फुलविन एक्सथ्री र एक्सथ्री प्लस उस्तैछ । बक्सी डिजाइनमा बनेको अफरोड मेसिनमा एल आकारको हेडलाइट, नयाँ डिजाइनको फ्रन्ट ग्रिल, रुफ लगेज र्याक, पछाडि बुट डोरमा दिइएको स्टोरेज दिइएको छ । नेपालमा पनि यस्तै डिजाइनमा जेको जे-सिक्स उपलब्ध छ ।
नेपालमा उपलब्ध जेको जे-सिक्सभन्दा केही सानो साइजमा एक्सथ्री मोडल उपलब्ध छ । जेको जे-सिक्सको लम्बाइ ४४०६ एमएम छ । जबकी फुलविन एक्सथ्रीको लम्बाइ ४३२७ एमएम मात्रै छ । यसको चौडाइ १९१६ एमएम र उचाइ १७२२ एमएम छ । यसमा २७१५ एमएम लामो ह्वीलवेस भएको एसयूभी ६२५ एमएम गहिरो पानीसम्ममा चलाउन सकिन्छ ।
फुलविन एक्सथ्रीमा १८५ किलोवाटको रियर ह्वील ड्राइभ मोटर दिइएको छ । यसको पीकटर्क ३०० एनएम छ । दुबै मोडलमा समान ५०.७९ र ६८.३६ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । यसको रेन्ज ५२० किलोमिटरसम्म हुने सीएलटीसीले जनाएको छ । जुन सडकमा चलाउँदा भने केही कमै आउने छ ।
फुलविन एक्सथ्री प्लस मोडल रियर ह्वील र अल ह्वील ड्राइभमा रहेको छ । यसको पछाडि १८५ किलोवाट र अगाडि ७० किलोवाटको मोटर दिइएको छ । दुबै मोटरको संयुक्त पावर २५५ किलोवाट हुन्छ ।
इन्टेरियर पनि जेको जे-सिक्ससँग मिल्दो जुल्दो छ । यसमा ९.२ इन्चको इन्फर्मेसन डिस्प्ले, १५.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, क्वालकमको स्न्यापड्रागन ८१५५ चीप प्रयोग भएको छ ।

