‘गुड वाई’ हुन्डाई सेन्ट्रो

काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले भारतमा उत्पादन गरेको सेन्ट्रो अब नेपालमा किन्न पाइने छैन । भारतमा ४ महिनाअघि नै सेन्ट्रोको उत्पादन बन्द गर्ने घोषणा भएको थियो । अब नेपालमा पनि यसको विक्री बन्द भएको हो ।

हुन्डाईको आधिकारकि विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो वेभसाइटबाट हुन्डाई सेन्ट्रोलाई हटाएको छ । कम्पनीले आफ्नो २४ वर्ष पुरानो आफ्नो टल ह्याचब्याक डिजाइनमा बनेको सेन्ट्रो वेभसाइटबाट हटाएको हो । उसो त सन् २०१४ देखि १८ सम्म पनि सेन्ट्रोको उत्पादन बन्द भएको थियो ।

अहिले भारतमा उत्पादन बन्द गर्नुअघि नै हुन्डाईले सेन्ट्रोको स्थानमा नयाँ मोडल ल्याउने घोषणा गरेको थियो । कम्पनीको स्टेटमेन्टलाई हेर्दा सम्भवत सेन्ट्रो नेम प्लेट अब बजारमा फर्कने छैन ।

आफ्नो २४ वर्ष लामो यात्रामा हुन्डाईले सेन्ट्रो संसारभर २० लाख यूनिट विक्री भएको छ । सन् १९९८ को सेप्टेम्बरबाट बजारमा आएको सेन्ट्रो २०१४ सम्ममा भारतमा मात्रै १३ लाख २२ हजार यूनिट विक्री भएको थियो । भारत बाहिर करिब ५ लाख यूनिट निर्यात भएको थियो ।

सन् २०१८ मा आएको नयाँ जेनेरेशन सेन्ट्रो भारतमा १ लाख ५० हजार यूनिट भारतमा विक्री भएको थियो । निर्यात पनि ५० हजार यूनिटभन्दा धेरै भएको थियो । भारतमा मासिक २ हजार यूनिट विक्री हुँदा हुँदै सेन्ट्रोको उत्पादन बन्द भएको हो ।

सन् २०१९ बाट नेपालमा विक्री सुरु भएको नयाँ जेनेरेशन सेन्ट्रो औषतमा वार्षिक ४ सय यूनिट हाराहारी विक्री हुँदै आएको थियो । पुरानो सेन्ट्रो त नेपालमा सर्वाधिक सफल मोडल मानिन्छ ।

हुन्डाई सेन्ट्रोको पुरानो मोडल धेरै पटक परिमार्जन भएको थियो । मल्टीपोर्ट फ्यूल इन्जेक्सन इन्जिन, टल ह्याचब्याक डिजाइन, ठूलो स्पेश, शानदार लूक्स, फगल्याम्प्स, एड्जस्टेबल हेडरेस्ट जस्ता विशेषताले त्यो समय सेन्ट्रो चर्चित थियो । नेपालमा मध्यमवर्गीय परिवारको पहिलो रोजाईमा परेको थियो ।

कम्पनीले भारतीय चर्चित अभिनेता शाहरूख खानलाई ब्रान्ड एम्बेस्डर बनाएर यसको मार्केटिङ गर्दै आएको थियो । चार सिलिण्डर भएको १.१ लिटरको इन्जिन नयाँ जेनेरेशन सेन्ट्रोको बलियो पक्ष थियो । उक्त इन्जिनले ६९ बीएचपी र ९९ एनएम–टर्क प्रदान गर्थ्यो ।

नेपाली सडकमा बलियो उपस्थिति बनाएको सेन्ट्रो अझै धेरै वर्ष गुडेको हेर्न पाइने छ । तर, नयाँ किन्न भने पाइने छैन । आफ्नो सफल २४ वर्षे यात्रा टुङ्गाएर हामी माझबाट विदा भएको सेन्ट्रोलाई ‘गुड वाई’ भन्ने वेला आएको छ । ‘गुड वाई सेन्ट्रो’ ।

 


Back_to_top