काठमाडौं । गल्फ लुब्रिकेन्ट्सका आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडको ब्राण्ड एम्बास्डरमा राष्ट्रिय महिला यू-१९ क्रिकेट टोलिकी उपकप्तान पूजा महतो नियुक्त भएकी छिन् ।
कम्पनीले हालै पोखरामा सम्पन्न गरेको वार्षिक पार्टनर मिटको अवसरमा उनलाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको हो ।
यो सहकार्यले सम्पूर्ण नेपाली महिला क्रिकेटलाई समेत लाभ पुग्ने कम्पनीको विश्वास छ । ‘पूजा महतो नेपाली क्रिकेटको उदयीमान तारा हुनुहुन्छ । उहाँको लगनशीलता र अथक मेहनतले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याएको छ। यो सहकार्यले कम्पनी र महतो दुवैलाई मात्र होइन, सम्पूर्ण नेपाली महिला क्रिकेटलाई समेत लाभ पुग्ने हाम्रो विश्वास छ,’ कम्पनीले भनेको छ ।
ब्राण्ड एम्बास्डर नियुक्त भएकी महतोले गल्फ लुब्रिकेन्टसँग सहकार्य गर्न पाउँदा आफू खुसी भएको बताइन् । ‘गल्फ विश्वव्यापी रूपमा प्रतिष्ठित ब्रान्ड हो, जुन उच्च प्रदर्शन र गुणस्तरको लागि परिचित छ। यस ब्रान्डसँग सहकार्य गर्न पाउँदा म निकै खुसी छु । यसले मलाई मात्र होइन, भविष्यमा अरु महिला क्रिकेटरहरूलाई पनि यस्तै अवसर मिल्ने प्रेरणा दिनेछ भन्ने आशा गर्दछु,’ उनले भनिन् ।
कम्पनीका प्रबन्ध निर्देशक तथा नाडा अध्यक्ष करण चौधरीले लुब्रिकेन्सको व्यवसाय धेरै चुनौतीपूर्ण हुँदै गएको बताए । नेपाल ल्युब आयल लिमिटेडले सदैव गुणस्तर, सर्वसुलभ र पार्टनर्सहरूको सस्टेनबिलिटीलाई ध्यान दिँदै आएकोले बजारमा गल्फ आगामी दिनमा अझ गतिशील हुने विश्वास व्यक्त गरे ।

