इलेक्ट्रीक मिनी एसयूभी नेपाल आउँदै, मूल्य १७ लाख हाराहारी पर्ने

काठमाडौं । चिनियाँ कम्पनीका उत्पादन नेपाल आउने क्रम बढ्न थालेको छ । यही क्रममा अर्को नयाँ मोडल नेपाल आउने भएको छ । इभी नेपाल प्रालिले नेपाल ल्याउने नयाँ ब्राण्ड हार्मोनियस गिया कम्पनीको ‘जीएक्स-८’ मोडल हो ।

यसको धेरै विषय बाहिर नआएको भएपनि केही कुरा कम्पनीले जानकारी दिएको छ । यो कारको लम्बाई ३४५० एमएम चौडाई १५५० एमएम र उचाई १६३० एमएम रहेको छ । यो कारको कुल तौल ८०० किलोग्राम मात्रै रहेको छ ।

१७० एमएमको ग्राउन्ड क्लियरेन्स, २२६० एमएमको ह्वीलवेस यसमा पाउन सकिन्छ । ४ जनाले सहज यात्रा गर्न मिल्ने यो कारमा आधुनिक सबै किसिमका फिचर दिइएको छ ।

यो सानो कारमा ७.५ किलोवाट आवर क्षमताको व्याट्री दिइएको छ । यसमा लिथियम आयोन व्याट्री दिइएको छ । यसमा ४ किलोवाट क्षमाताको मोटर दिइएको छ ।

यो कारलाई अधिकतम ६० किलोमिटर प्रतिघन्टाको स्पीडमा चलाउन सकिन्छ । एक पटकको फुलचार्जमा यसले ८० किलोमिटरदेखि १५० किलोमिटरसम्म रेञ्ज प्रदान गर्छ । ४ ढोका भएको यो कारमा अलोय ह्वील, एलइडी इन्फोटेन्टमेन्ट सिस्टम, सनरुफ, डेटाइम रनिङ लाइट, अगाडि डिस्क ब्रेक, पछाडि ड्रम ब्रेक जस्ता फिचर उपलब्ध रहेको छ ।

यो कारमा रियर भ्यू क्यामेरा, सेन्ट्रल लक, रिमोर्ट की, हिल स्टार्ट एसिस्ट, जस्ता फिचर रहेका छन् । कम्पनीले यसको मूल्य करिब १७ लाख रुपैयाँ हाराहारी निर्धारण गरेर विक्री सुरु गर्ने अनुमान गरिएको छ ।


Back_to_top