काठमाडौं । कार बिक्रीको हिसावले पछिल्ला धेरै वर्षदेखि चीन अग्रस्थानमा रहेको भएपनि सन् २०१९ मा चिनीयाँ बजारमा कार बिक्री ८ प्रतिशतले घटेको थियो । पछिल्लो २० वर्षमा चीनमा पहिलो पटक कारको बिक्री घटेको हो । चीनमा सन् २०१९ भर २ करोड ५७ लाख ६९ हजार यूनिट कार बिक्री भएको थियो भने दोस्रो स्थानमा रहेको अमेरिकामा १ करोड ७० लाख ३८ हजार ६१७ यूनिट कार बिक्री भएको थियो ।
अमेरिकामा पनि कारको बिक्री सन् २०१८ को तुलनामा २ प्रतिशतले घटेको हो । त्यस्तै तेस्रो स्थानमा जापान रहेको छ । जापानको बिक्री पनि २०१८ को तुलनामा १ प्रतिशतले घटेको हो । जापानले सन् २०१९ मा ५१ लाख १९ हजार ६५२ यूनिट कार बिक्री गरेको थियो । कार धेरै बिक्री गर्ने देशको सूचीमा जर्मनी चौथो स्थानमा रहेको छ । २०१८ को तुलनामा जर्मनीमा कार बिक्री ५ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।
जर्मनीमा २०१९ भर ३९ लाख ५ हजार ५९७ यूनिट कार बिक्री भएको थियो । त्यसैगरि सूचीको ५ औं स्थानमा भारत रहेको छ । भारतमा २०१८ को तुलनमा १२ प्रतिशतले कारको बिक्रीमा गिरावट आएको थियो । सन् २०१९ मा भारतमा ३४ लाख ६४ हजार १२५ यूनिट कार बिक्री भएको थियो । कार बिक्री घटेसँगै भारत धेरै कार बिक्री हुने देशको सूचीमा चौथो स्थानबाट झरेर पाँचौँ स्थानमा पुगेको हो ।
सूचीको छैटौ स्थानमा फ्रान्स रहेको छ । यसअघि छैटौ स्थानमा रहेको वेलायत एक स्थान तल झदै ७ औं स्थानमा पुगेको हो । फ्रान्समा २ प्रतिशतले कार बिक्री बढ्दा वेलायतमा २ प्रतिशतले नै घटेको थियो । फ्रान्समा २६ लाख ७७ हजार ८३० यूनिट कार बिक्री भएको थियो भने वेलायतमा २६ लाख ७६ हजार ८८५ यूनिट कार बिक्री भएको हो ।
सूचीको ८ औं स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा सन् २०१९ मा २६ लाख ६३ हजार ५७० यूनिट कार बिक्दा ९ औं स्थानमा रहेको इटालीमा २० लाख ९५ हजार ६८० यूनिट कार बिक्री भएको थियो । सूचीको १० औं स्थानमा क्यानडा रहेको छ । समग्रमा ३ प्रतिशतले बिक्री घटेपनि क्यानडा १० औं स्थानमा पर्न सफल भएको हो । क्यानडामा २०१९ मा १९ लाख २८ हजार ४६८ यूनिट कार बिक्री भएको थियो ।

